सांसद आलेमगरको प्रश्न- सिंगापुर प्रहरीमा कार्यरत नेपाली कसको मातहतमा छन् ?

सांसद आलेमगरको प्रश्न- सिंगापुर प्रहरीमा कार्यरत नेपाली कसको मातहतमा छन् ?

काठमाडौं।राष्ट्रिय सभाका सांसद सुरेश कुमार आलेमगरले सिंगापुर प्रहरीमा कार्यरत नेपालीहरुमाथि अन्याय भएको बताएका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालीहरु सिंगापुर प्रहरीमा बेचिएको दाबी समेत गरे।

‘सन् १९४९ देखि सिंगापुर प्रहरीमा नेपालीलाई लगियो।सुरुमा १४९ जना लगिएको थियो, अहिले २ हजार नेपाली सिंगापुर प्रहरीमा क्रियासिल छन्,’सांसद आलेमगरले भने, ‘उनीहरुको पहिचान स्पष्ट छैन।सिंगापुर प्रहरीमा कार्यरत नेपालीको सम्बन्ध कोसँग छ–बेलायत वा सिंगापुर सरकारसँग?’

बेलायत सरकारले छनोट गरेर नेपाली युवाहरुलाई लग्ने र केहीलाई बेलायती सेनामा र केहीलाई सिंगापुर प्रहरीमा पठाउने गरेको उनले बताए।उनीहरुको तलव सिंगापुर सरकारले उपलब्ध गराउने तर मुल जिम्मेवारी कसको हो भन्ने स्पष्ट नभएको उनले जनाए।

‘बेलायतमा भएका बेलायत सरकारको मातहतमा छन् तर सिंगापुरमा कार्यरतहरु को मातहत छन् ?’सांसद आलेमगरले भने, ‘उनीहरुले पाउने तलव भत्तामा विभेद छ।उनीहरुले मात्र ५८५ सिंगापु्र डलर पाउँछन्। १९४९ मा जति तलव थियो त्यतिनै अहिले पाउँछन्।’

सिंगापुर प्रहरीमा कार्यरत परिवारका सदस्य त्यहाँ गएपछि ब्यारेक भित्र कैदीबन्दी जस्तो बनेर बस्नुपर्ने उनले जनाए।प्रहरीका परिवारलाई सिंगापुरमा नोकरी गर्न नदिइने समेत उनले बताए।

‘परिवारको काम सन्तान उत्पादन गर्ने बाहेक केही छैन।त्यहाँ कार्यरत प्रहरीका छोराछोरी २१ वर्ष पुरा भएपछि स्वदेश फर्किनुपर्छ।यस्तो समस्या ब्रिटिस गोर्खामा कार्यरतमा छैन,’उनले भने।