भारतमा पनि सकिँदैछ डलर,भारतीय रूपैयाँमा तीव्र गिरावट

भारतमा पनि सकिँदैछ डलर,भारतीय रूपैयाँमा तीव्र गिरावट

भारतीयहरूले सामाजिक सञ्जालमा एउटा तस्विर अहिले भाइरल बनाएका छन्।भारतीय युवा कांग्रेसले भारतका भिनिन्न ठाउँहरूमा टाँसेको एउटा पोस्टरमा हिन्दी भाषामा लेखिएको छ–फटा पोस्टर त्यो छेउमा भारतीय प्रधानमन्त्री मोदीको तस्विरसँगै लेखिएको छ–रूपैया ८०‘।अनि त्यसमा ‘थ्याङ्क यु मोदी जी‘’ लेखिएको छ।

यसको मतलव अहिले एक डलर किन्नका लागि भारतीय ८० रूपैयाँ खर्चिनुपर्छ।भारतीय अर्थतन्त्रमा उसको आफ्नो घरेलु मुद्रामा अहिलेसम्मकै यो उच्च गिरावट हो र यसैलाई ब्यंग्य गरेर अहिले भारतमा सरकारको आलोचना भइरहेको छ।

भारतमा अहिले डलरको अभाव हुन थालेको छ।अर्थात् डलरको सञ्चिति घट्न थालेको छ।भारतीय रिजर्व बैंकका अनुसार बितेको एकसातामा मात्रै भारतमा ८.०६२ अर्ब डलर सकिएको छ र अब उसको भन्डारमा ५८०.२५२ अर्ब डलरमात्रै बाँकी छ।भारतीय रूपैयाको तुलनामा डलर निकै माथि पुगेको छ।जसले गर्दा डलर सञ्चितीमा कमी आइरहेको केन्द्रीय बैंकले जनाएको छ।

डलरको मूल्य, तथा सुनको मौज्जाद र त्यसको मूल्य डलर सञ्चितिका मुख्य हिस्सा हुन्।

भारतसँग अहिले ३९.१८६ अर्ब डलर बराबरको सुन छ।एकसातामै यो १.२३६ अर्ब डलर बराबर कमी आएको हो।अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफसँग भारतको मुद्रा सिमा १८.०१२ बिलियन डलरमात्रै पुगेको छ।एक सातामा यो लगभग १२२ मिलियन डलर घटेको हो।

आइएमएफमा भारतीय मौज्जाद सिमा पनि ४९ मिलियन डलर घटेको छ र यो अब ४.९६६ बिलियन डलर भएको छ।

अहिले डलरको तुलनामा भारतीय मुद्रा निकै कमजोर देखिएको छ। यसलाई भारतीय अर्थतन्त्र इतिहासकै पहिलो गिरावट मानिएको छ। एक अमेरिकी डलर किन्नका लागि अब भारतीय ८० रूपैया लाग्छ।

भारतीय रूपैयाँ लगातार कमजोर हुन थालेपछि विपक्षीहरूले सरकारको आलोचना गर्न थालेका छन्।विपक्षी कांग्रेस र अरू दलहरूले मोदी सरकारले भारतीय अर्थतन्त्रलाई बिगारेको आरोप लगाएका छन्।

कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले आफ्नो सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे प्रश्न सोधेका छन्।

 

राहुलले एउटा भिडियोग्राफ शेयर गर्दै मोदीको एउटा पुरानो अभिव्यक्ति याद गराएका छन्। त्यो बेला नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए।

‘देश निराशाको गर्तमा डुबेको छ’ यो तपाईंकै शब्द हो नि प्रधानमन्त्री ज्यू? राहुलले भनेका छन् ‘त्यो बेला तपाईंले जति चर्को स्वरमा यो शब्द भन्नु भएको थियो, आज हाम्रो पैसाको मूल्य जति ओरालो लागिरहेको छ तपाईं किन मौन?’

त्यो बेलाको मोदीको भाषण अहिले सामाजिक सञ्जालहरूमा भाइरल भएको छ।कांग्रेस प्रवक्ता सुप्रिया श्रीनेतले भनेकी छिन् ‘यो स्विकार गर्नपर्छ कि हाम्रो पैसा यति कमजोर हुनुको सबैभन्दा ठूलो कारण ध्वस्त अर्थव्यवस्था र बेलगाम महंगी नै हो।’

डलरको मूल्यमा अहिले किन यस्तो भइरहेको छ? किन भारतीय रूपैयाको मूल्य निरन्तर खस्किरहेको छ?

विश्वका सबै देशका आआफ्नै मुद्रा हुन्छन्।जस्तो कि ब्रिटेनमा पाउण्ड, मलेसियामा रिंगेटलगायत।हामीले ब्रिटेनमा यात्रा गर्नुपर्‍यो वा त्यहाँबाट सामानहरू खरिद गर्नुपर्‍यो भने हामीलाई पाउण्ड चाहिन्छ। हामीले त्यो मुद्राको मूल्यअनुसार आफ्नो देशको पैसामा किन्न सक्छौं।

एक पाउण्ड किन्दा हामीले हाम्रो देशको जति रूपैयाँ तिर्नुपर्छ त्यसलाई ‘एक्सचेन्ज दर’ भनिन्छ।

कसरी तय हुन्छ मुद्राको मूल्य?

एक्सचेन्ज रेट अर्थात् सटही दर सधै एकनासको हुँदैन।त्यसमा तलमाथि भइरहन्छ।

धेरै देशको मुद्रामा यस्तै हुन्छ।त्यो कम पनि हुनसक्छ बढी पनि हुन्छ।यो भनेको कुनचाहिँ देशको मुद्राको माग बढी हुन्छ त्यसमा भर पर्छ।

विश्वमा धेरैजसो कारोबार अमेरिकी मुद्रा ‘डलर’मा हुने भएका कारण मुद्रा बजारमा डलरको माग सधै बढी नै हुन्छ।

भारतीय केन्द्रीय बैंकसँग के छ विकल्प?

रिजर्व बैंक अफ इन्डिया अर्थात् भारतको केन्द्रीय बैंकले पनि विदेशी मुद्रा भण्डारण गरिरहेको हुन्छ।अर्थात् ऊसँग विदेशी मुद्रा सञ्चिति हुन्छ।

यद्यपि १९९३ पछि अरू क्षेत्रजस्तै मुद्रा बजार पनि सरकारी नियन्त्रणभन्दा बाहिर नै छ।मुद्रा बजारमा कुनै पनि देशको पैसाको मूल्य त्यसको मागको आधारमा बजारले नै तय गर्छ। तर केन्द्रीय बैंकले त्यसमा हस्तक्षेप पनि गर्नसक्छ।

विदेशी मुद्रा सटही बजारमा डलर एकदमै महंगो हुन थाल्यो भने केन्द्रीय बैंकले मुद्रा बजारमा डलर बेचेर वा रूपैया खरिद गरेर मूल्यमा सन्तुलन ल्याउनसक्छ।

डलर बढ्दा के हुन्छ?

भारतजस्ता देशमा अत्यावश्यक सामानहरू जस्तो कि कच्चा तेल, ग्यासलगायतका वस्तुहरू विदेशबाटै आयात हुन्छ। यसका अलावा इलेक्ट्रिक सामान तथा अरू उपकरण खरिद गर्नका लागि पनि अमेरिकी डलरमै सम्झौता हुन्छ। त्यसैले भारतलाई डलर निकै आवश्यक छ।

विश्व बजारमा यी सामानहरूको माग धेरै भयो भने डलर पनि धेरै चाहिने हुन्छ। आयातका लागि बढी रकम तिर्नुपर्ने हुँदा डिजेल पेट्रोलको मूल्य पनि बढ्छ। ढुवानी अनि उद्योग, कलकारखाना चलाउनका लागि इन्धन धेरै चाहिने हुँदा अरू सामानको मूल्य पनि बढ्न जान्छ।

डलर किन महंगो हुँदैछ?

नेपाल र भारतजस्ता देशमा डलर निकै महंगो भएको छ र नेपाली वा भारतीय रूपैयाको मूल्य पनि कमजोर भएको छ।तर नेपाल र भारतीय सम्झौताअनुसार यी दुई देशबीच मुद्राको सटही दर एकनासको रहन्छ।

डलरको मूल्य बढ्नुका धेरै विश्वव्यापी कारणहरू हुनसक्छन्।

जस्तो कि कोरोना महामारीले विश्व अर्थतन्त्र नै बिथोलिएकै बेला रुस र युक्रेनबीच युद्ध सुरू भयो।धेरै पश्चिमा राष्ट्रहरूले रुसमाथि प्रतिवन्ध लगाए।धेरै देशले रुसबाट तेललगायतका अरू सामानहरू पनि खरिद गर्न बन्द गरे।अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य निकै आकाशियो।जसको असर अमेरीका अनि युरोपको अर्थतन्त्रमाथि पनि देखापर्‍यो।

युद्धका कारण खाद्यान्न र अरू अत्यावश्यक सामानहरूको आपूर्तिमा बाधा भयो।अमेरिका र युरोपका कतिपय देशमा धेरै दशकपछि महंगीले आकाश छुन लागेको छ।

आम नागरिकलाई महंगीको मारबाट जोगाउन र अर्थव्यवस्थालाई सन्तुलनमा राख्नका लागि अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाइदिएको छ।जसले गर्दा त्यहाँ सरकारी ऋणको पनि चर्को ब्याज चुकाउनुपर्छ। त्यसले उद्योग र व्यापारीको ऋणमा पनि चर्को ब्याज तिर्नुपर्ने भएको छ।

भारतमा पनि अहिले महंगी निकै बढिरहेको छ।जसले गर्दा भारतमा लगानी गरेका लगानीकर्ताहरूले त्यहाँबाट पैसा निकालेर अमेरिका लैजाँदैछन्।जसले गर्दा उनीहरूलाई लाग्छ कि भारतभन्दा उनीहरूको पैसा अमेरिकामै सुरक्षित हुन्छ।

पछिल्ला महिनामा भारतबाट करोडौं डलर लगानी फिर्ता भएको छ।जसका कारण मुद्रा बजारमा डलरको आपूर्ति निकै कम भएको छ।अर्थात् भारतीय बजारमा डलरको अभाव चुलिन थालेको छ।

आगामी दिनमा अमेरीकी केन्द्रीय बैंकले ब्याजदर अझ बढायो भने झन धेरै रूपैयाँ तिर्नुपर्ने हुनसक्छ एक डलर किन्नका लागि।