नागरिकता समस्या अन्त्य गर्न सरकारले विधेयक फिर्ता लिएको हो : खाँण

नागरिकता समस्या अन्त्य गर्न सरकारले विधेयक फिर्ता लिएको हो : खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले दलहरूबीच सहमति जुटाएर सक्दो चाँडो पास गर्ने उद्देश्यले अर्को नागरिकता विधेयक ल्याउन लागिएको बताएका छन्।

नागरिकता विधेयक फिर्ता लिने सम्बन्धी प्रस्तावमाथिको छलफलमा शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाबुआमा नागरिक रहे पनि ऐनको अभावमा उनीहरूका सन्तानले नागरिकता पाउन नसकेकोले पनि विधेयक चाँडै पास गर्नुपर्ने जिकिर गरे।

विधेयक ल्याए पनि तत्कालीन सरकारले पारित गराउन नसक्दा अध्यादेश ल्याउनु परेको उनले बताए। अहिलेको समस्यालाई सम्बोधन गर्नका लागि नयाँ विधेयक ल्याउन लागिएको खाँणले बताए।

उनले सबै दलका शीर्ष नेताहरूसँग छलफल गरेर अर्को विधेयक ल्याउन लागिएको जिकिर गरे। ‘सबै राजनीतिक दलको सहमतिमा शीघ्र नै पास गर्न सकौं यो नै सरकारको ध्येय हो,’ उनले भने,‘नागरिकताबाट बञ्चित भएकालाई नागरिकता दिलाउँ। सबै दलका नेताहरूसँग हाम्रो आग्रह छ सहमतिमा नागरिकता विधेयक पारित गरौं।’

उनले हिमाल, पहाड र तराईमा बस्ने सबै राष्ट्रवादी रहेको बताए। नागरिकता दिएर राष्ट्रवाद थप बलियो हुने खाँणको भनाइ थियो।

‘यो हाम्रो राष्ट्रिय समस्या नै भैसक्यो, सबैको मुटुमा राष्ट्रवाद छ,’ उनले भने,‘नागरिकताका कारणले अझै राष्ट्रवाद बलियो हुन सकोस्। नागरिकता नपाएर युवाहरूको मनमस्तिष्कमा जुन फ्रस्ट्रेसन छ त्यसको अन्त्य होस्।’

खाँणले कुनै पनि नागरिक नागरिकता बञ्चित नहोउन् सरकारको धारणा रहेको जिकिर गरे।

नागरिकतासम्बन्धी समस्या अन्त्य गर्नकै लागि सरकारले विधेयक फिर्ता लिएको उनले बताए।