नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं। सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको हो।

सहमति जुट्न नसकेर प्रतिनिधिसभामा विचाराधीन रहेको विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

‘सहमति नै जुट्न नसकेको विधेयक फिर्ता लिने निर्णय भएको छ,’ ती मन्त्रीले भने,‘अब चाँडै अर्को विधेयक संसदमा पेश हुन्छ।’

सत्तारुढ गठबन्धनमा रहेका सबै राजनीतिक दलहरूबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिने निर्णय भएको उनले बताए।

बुधबार बस्ने प्रतिनिधिसभा बैठकबाट फिर्ता लिने तयारी सरकारको छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो।

विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा झन्डै दुई वर्ष दफावार छलफल भएर प्रतिनिधिसभामा प्रतिवेदन पेस भएको थियो।

नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकको वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधानप्रति दलहरूको सहमति जुट्न सकेको छैन।