श्रममन्त्रीले पत्रकारहरूलाई सुनाएको विदेशिनेका ‘कथा’

श्रममन्त्रीले पत्रकारहरूलाई सुनाएको विदेशिनेका ‘कथा’

काठमाडौं। वैदेशिक रोजगारको क्षेत्रमा कलम चलाउने पत्रकारहरू शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवँरलाई भेट्न पुगेका थिए।

वैदेशिक रोजगारीमा गएका नेपाली र उनीहरूका समस्याका बारेमा छलफल गर्न गएका पत्रकारहरूलाई मन्त्री कुँवर आफैले भावुक भएर ‘विरह’का कथा सुनाए।

मन्त्रालयको जिम्मेवारी सम्हाल्न भर्खर आएका उनले आफू यो विषयमा त्यतिधेरै जानकार र अनुभवी नभएको बताए। तर, विदेशिनेका पीडालाई उनले नजिकैबाट महसुस गरेजस्तै गरी बरू उनीहरूका कथा सुनाए।

म्यानपावर कम्पनी अनि दलालहरूले ठगेका कहानी सुनाए।

यो क्षेत्रलाई सम्हाल्नु आफैमा चुनौतीपूर्ण रहेको भन्दै उनले तर, त्यो चुनौतीसँग आफू ‘नडराउने’ बाचा पनि गरे।

‘मान्छेहरु ठगिएका छन्। लुटिएका छन्। वैदेशिक रोजगारीमा अनेक खालका समस्या छन्,’ मन्त्री कुँवरले भने, ‘हाम्रा दाजुभाई दिदीबहिनी वैदेशिक रोजगारीमा गए भनेर खुसी हुने अवस्था छैन। वैदेशिक रोजगारमा भयावह स्थिति छ।’

कुँवरले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

वैदेशिक रोजगारीमा असुरक्षाकै कारण १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएको उनको भनाइ छ।

‘सुनौलो सपना बोकेर गएका १० हजार युवाहरुको बन्द बाकसमा लाश आएको छ। २ हजारभन्दा बढी अंगभंग भएका छन्, २७ जना कोमामा पुगेका छन्। यो अति पीडादायी अवस्था हो,’ उनले सुनाए।

विदेशमा कोमामा पुगेका नेपालीहरुलाई राज्यले केही व्यवस्था गर्न नसकेको मन्त्री कुँवरले बताए।

वैदेशिक रोजगारीमा रहेका श्रमिकको सुरक्षाको ग्यारेण्टी राज्यले गर्नुपर्ने उनको भनाइ छ।

‘विदेश गएका श्रमिकको सुरक्षा राज्यले गर्नुपर्छ। यसलाई राज्यले गम्भीर रुपमा लिनुपर्छ,’ उनले भने।

युवा शक्ति बाहिरिँदा देशलाई ठूलो घाटा भएको उनले बताए। युवा विदेश पलयान भएकै कारण जग्गा जमिन बाँझो रहेको उनको भनाइ छ। राज्यले युवा शक्तिलाई देशमै रोजगारी दिलाउनेतर्फ काम नगरेको उनले बताए।

उनले वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी धन्दालाई निरुत्साहित पार्न आफूले काम गर्ने बताए। उनले ठग्नेहरूलाई ‘साइज’मा ल्याउने गरी काम गर्ने आफ्नो योजना रहेको सुनाए।

‘काम कति सकिने कति नसकिने त्यो भोलि परिणामले देखाउला। तर, म ठगी नियन्त्रण गर्न राज्यका सबै संयन्त्रलाई क्रियाशील बनाउँछु,’ उनले भने।

मन्त्री कुँवरले म्यानपावरका प्रतिनिधिहरुले पनि पैसा कमाउनैका लागि श्रमिकमाथि लुटतन्त्र मच्चाउन नहुने बताए। ‘व्यापार फाइदाका लागि गरिन्छ। नाफा बिनाको व्यापार हुँदैन। तर, फाइदाकै लागि नेपाली दाजुभाइहरूको हुर्मत लिनेगरि हाम्रै दाजुभाइलाई नठग्न म आग्रह गर्छु,’ उनले भने।

वैदेशिक रोजगार क्षेत्रका विकृति र विसंगति नियन्त्रण गर्न आफूलाई यस क्षेत्रका पत्रकारहरुको साथ र सहयोग आवश्यक रहेको भन्दै उनले सहयोग गर्न आग्रह समेत गरे।

उनले श्रम मन्त्रालयको नेतृत्व सम्हाल्न आफू अनुभवी व्यक्ति नभएको पनि बताए।

‘म यो क्षेत्रको विज्ञ होइन, म त एक राजनीतिज्ञ हो। भर्खर सिक्दैछु,’ उनले भने,‘ नयाँ छु। तर, चुनौतीसँग डराउदिनँ।’

उनले आफूले श्रम मन्त्रालय रोजेर आएको नभइ पार्टीले जिम्मेवारी दिएको बताए।

‘व्यक्तिगत रुपमा भन्ने हो भने त यो मन्त्रालय मेरो रुचीको होइन। यहाँ मैले रोजेर आएको होइन। गठबन्धको सरकारका कारण पार्टीले पठाएर आएको हुँ,’ उनले भने।

यस्तै वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्धव भट्टराईले वैदेशिक रोजगारका समस्या तथा गर्नुपर्ने कामका बारेमा बताएका थिए।