भावुक हुँदै झाँक्रीले छाडिन सरकार

भावुक हुँदै झाँक्रीले छाडिन सरकार

काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकार छाडेकी छन्।

आइतबार पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिने घोषणा गरेर सरकार छाडेकी हुन्।

मन्त्रालयले ‘फेरि भेटौंला’ कार्यक्रम राखेर विदाइ गरिरहँदा मन्त्री झाँक्री आँखाबाट आँशु झार्दै भावुक भएकी थिइन्।

झाँक्री भने ‘आफूले आज केही बोल्न नसक्दिनँ, मलाई बोल्ने मन छैन’ बताइ रहिन्। भावुक भएरै प्रश्नहरूलाई ‘इग्नोर’ गर्न खोजेको उनले बताइन्।

‘साथीहरूले मन्त्री बनेको मिति काउन्ट सुरू गर्न थाल्नुभयो, हामीले खासै मतलब गरेनौं, पार्टीको निर्णय कुरेर बसिरह्यौं,’ झाँक्रीले भनिन्,‘निर्वाचनको समीक्षाका लागि बोलाइएको बैठकमा मन्त्रीबाट फिर्ता बोलाउने कुरा आयो।’

सरकारबाट फिर्ता बोलाउने कुरा मिडियाबाट नभएर पार्टीबाट थाहा पाउनुपर्ने आफूहरूले जानकारी गराएको उनले बताइन्। प्रधानमन्त्रीले बजेटसम्म काम गर्न अनुरोध गरेपछि आफूहरूले कामलाई निरन्तरता दिएको उनको भनाइ थियो।

‘पार्टीले फिर्ता बोलाउने निर्णय कार्यान्वयन गर्नुपर्ने नै थियो। तर, संसदमा बजेट डिफेन्स गर्ने चाहना थियो, मन्त्रालयका टिमलाई धन्यावाद भन्नुपर्ने थियो,’ उनले भनिन्।

एकीकृत समाजवादीबाट मन्त्री भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका छन्।

नेकपा (एकीकृत समाजवादी) ले जेठ २२ मा मन्त्री फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने निर्णय गरेको थियो। तर, संसदमा प्रस्तुत बजेटमाथिको छलफलमा जवाफ दिनुपर्ने भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले रोकेका थिए।

शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले मन्त्री हेरफेर गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ भए त्यसलाई अपमानको रूपमा लिने चेतावनी दिएको थियो।

मन्त्री फेरबदलको निर्णयमा ढिलाइ भएपछि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीभित्र खेल्न खोजेको आरोप एकीकृत समाजवादीले लगाएको थियो।

सचिवालय बैठकको निर्णयविपरित मन्त्रीहरू सरकारबाट फिर्ता हुन तयार नभएपछि एकीकृत समाजवादीभित्र पछिल्लो समय विवाद बढेको थियो।