बेपत्ता तारा एयरको जहाज मुस्ताङको लार्जुङमा दुर्घटनाग्रस्त : वायुसेवा सञ्चालक संघ

बेपत्ता तारा एयरको जहाज मुस्ताङको लार्जुङमा दुर्घटनाग्रस्त : वायुसेवा सञ्चालक संघ

काठमाडौं । हराइ रहेको तारा एयरको ९एन–एइटी साइनको ट्विनअटर जहाज भेटिएको छ।

जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको लार्जुङ क्षेत्रमा भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए।

‘जहाज लार्जुङ क्षेत्रमा डाँडाको खोँचमा लोकेट भएको छ,’ कँडेलले भने, ‘खराब मौसमका कारण हेलिकप्टर पुग्न नसकेकोले त्यहाँको वस्तुस्थिति थाहा पाउन सकिएको छैन।’

तीनपटकसम्म प्रयास गर्दा सम्म पनि खराब मौसमका कारण हेलिकप्टर पुग्न नसकेपछि सुरक्षाकर्मीहरू त्यस क्षेत्रमा पैदल जान लागेको उनले बताए।

‘लोकेट भएर खोँचमा एयरक्राफ्ट देखिइसकिएको छ,’ उनले भने, अब त्यहाँको वस्तुस्थिति कोही बाँचेको छ, के छ भन्ने कुरा त्यहाँ नपुगेसम्म भन्न सकिँदैन।’

हुस्सु र कुहिरोका साथै त्यस क्षेत्रमा वर्षा भइरहेकोले हेलिकप्टर पुग्ने अवस्था नरहेको कँडेलले बताए। ‘मौसमका कारण हेलिकप्टर पुग्न सक्ने अवस्था छैन, पैदलमात्र एक विकल्प देखिन्छ,’ उनले भने,‘जहाज लोकेट भएको स्थान डाँडोको खोँचसम्म हिँडेर पुग्न कठिन नै छ। समय लाग्न सक्छ।’

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनटर विमान करिब १०ः १० पछि सम्पर्कविहीन भएको थियो। जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना सवार छन्।