जापान प्रहरीको हिरासतमा रहेका नेपाली युवाको मृत्यु

जापान प्रहरीको हिरासतमा रहेका नेपाली युवाको मृत्यु सांकेतीक तस्वीर

नागोया। जापानमा एक जना नेपाली युवाको मृत्यु भएको छ। सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भइ जापानको नागोयामा रोजगाररत ४१ वर्षीय मनकुमार मगरको ३ मेमा मृत्यु भएको हो।

प्राप्तजानकारी अनुसार प्रहरी हिरासतमा रहँदा अस्वस्थ मगरको उपचारको क्रममा अस्पतालमा मृत्‍यु भएको हो।

यस घटनामा परिवारलाई साथ सहयोग गर्दै आएका एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीका अनुसार, मनकुमार गत १५ अप्रिलकाे बिहान १० बजे साथीकोमा जाने भनेर निवासबाट हिँडेका थिए।

तर, साँझ फर्किएर नाएपछि उनकी श्रीमतीले खोजी सुरु गरेकी थिइन्। सबै ठाउँमा सोधी खोजी गर्दापनि नभेटिएपछि प्रहरीलाई खबर गर्दा उनी हिरासतमा रहेको जानकारी प्राप्त भएको थियो।

प्रहरीको हिरासतमा रहँदा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको लागि उनलाई अस्पताल पुर्याइएको थियो। अस्पतालमा भेन्टिलेटमा राखेर लामो समय उपचार गर्दा पनि कुनै सुधार नभएका मनकुमारलाई ३ मेमा अस्पतालले मृत घोषणा गरेको हो।

हाल उनको पार्थिव शरीर प्रहरीको जिम्मामा राखिएको छ। अन्त्येष्टि कार्यमा १८ वर्षीय छोरा र १० वर्षीया छोरीले बावुको मुख हेर्न चाहाना गरेपछि भिसाको प्रक्रिया पूरा गरि जापान ल्याउन लागिएको छ।

अन्त्येष्टिका लागि लाग्ने खर्च साथै नेपालबाट छोरा–छोरी आउनका लागि ठूलो रकम खर्च हुने भएकाले मृतकी श्रीमती कान्छिमाया मगरले सहयोगका लागि अनुरोध गरेकी छिन्।