अबदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति लिंदा श्रमिक आफैले आवेदन दिनुपर्ने

काठमाडौं। अबदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिंदा श्रमिक स्वयंम आफैले अनलाइन आवेदन दिनुपर्नेछ।
वैदेशिक रोजगार कार्यलय ताहाचलले बुधबार एक सूचना जारी गर्दै ताहाचल कार्यलयले छाप लगाइ इमेलबाट पठाएको कागजात सम्बन्धित व्यक्ति आफैले प्रिन्ट गरी एफईआईएमएस मा अपलोड गर्न आग्रह गरेको छ । यो व्यवस्था बैशाख २२ गतेदेखि लागू हुनेछ।
यसअघिको व्यवस्थाअनुसार नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत श्रम स्वीकृति गर्दा कतार, संयुक्त अबर इमिरेट्स, कुवेत, रोमानिया, पोल्याण्ड, क्रोसिया, माल्दोभा, अल्बनिया, हङ्गेरी, स्लोभाकिया र बेलारुसका लागि सम्बन्धित नेपाली राजदूतावासबाट र अन्य देशका लागि सम्बन्धित कम्पनीबाट ताहाचल कार्यलयको इमेलमा करार सम्झौता, भिसा लगायतका कागजात पठाइन्थ्यो।
सो कागजात ताहाचल कार्यलयले प्रिन्ट गरी छाप लगाइ सम्बन्धित व्यक्तिले अनलाइनमा अपलोड गरी आवेदन दिने व्यवस्था थियो । तर, बैशाख २२ गतेदेखि भने सम्बन्धित राजदूतावास र कम्पनीले ताहाचल कार्यलयलाई पठाइएको इमेल सीसी गरी सम्बन्धित व्यक्तिको इमेलमा समेत पठाउनु पर्नेछ। सम्बन्धित व्यक्तिले सो कागजात आफैले प्रिन्ट गरी अपलोड गर्नुपर्नेछ।
ताजा अपडेट
