विदेशबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका उत्कृष्ट उद्यमीलाई नगदसहित राष्ट्रिय सम्मान

विदेशबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका उत्कृष्ट उद्यमीलाई नगदसहित राष्ट्रिय सम्मान

काठमाडौं। सरकारले विदेशबाट फर्केर उद्यमी बनेकाहरुलाई नगदसहित पुरस्कृत तथा सम्मान गरेको छ। शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) र सचिव एकनारायण अर्यालले एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र सात जनालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरेका हुन्।

जसअनुसार यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार दक्षिण कोरियाबाट फर्किएर कैलालीको लम्कीचुहा नगरपालिका–१ मा करुणा गार्मेण्ट्स संचालन गरिरहेका हरिप्रसाद जैसीले प्राप्त गरेका छन्। उनले नगद १ लाख ५० हजारसहित यो सम्मान पाएका हुन्।

यस्तै हरेक प्रदेशबाट १ जना गरी ७ प्रदेशबाट ७ जनाले रु ७५ हजार नगदसहित उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरे।

उद्यमी राष्ट्रिय पुरस्कार पाउनेहरुमा सुदुरपश्चिम प्रदेशबाट कैलालीको गौरीगंगा नगरपालिका–१ मा रोयल कृषि फर्म संचालन गरिरहेका अमृत बहादुर शाही, कर्णाली प्रदेशबाट सल्यान छत्रेश्वरी गाउपालिका–६ मा सुलभ पशुपंक्षी तथा माछा उत्पादन फर्म संचालन गरिरहेका लोकराज भण्डारी, लुम्बिनी प्रदेशबाट गुल्मीको गुल्मीदरबार गाउपालिकामा बुचा कृषि तथा पशुपंक्षी फर्म संचालन गरिरहेका गुनबहादुर बुचा रहेका छन्।

यस्तै गण्डकी प्रदेशबाट तनहु घिरङग गाउपालिका ३ मा डि के जि कृषि तथा पशु फर्म संचालन गर्दे आएका मेखनाथ गुरुङ, बाग्मति प्रदेशबाट दोलखा कालिन्चोक गाउपालिका ९ मा ग्लोबल कृषि तथा पशुपंक्षी फर्म सञ्चालक शंकर कुमार ओली, प्रदेश १ बाट मोरङ मिक्लाजुङ ६ मा कसेनी कृषि फर्म सञ्चालन गर्दै आएका हेमकुमार झाकोटे मगर र गण्डकी प्रदेशबाट कास्की पोखरा महानगरपालिका १४ मा पोखरा वास इण्डष्ट्रिज प्रा।लि। संचालन गरिरहेका सुनिल कार्कीले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका हुन्र।

पुरस्कृत उद्यमीहरुले आफ्नो अनुभव सुनाउदै सरकारले सम्मान गरेकोमा खुसी व्यक्त गरे।

दक्षिण कोरियाबाट फर्किएर नेपालमा गार्मेन्ट उद्योग खोलेका उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हरिप्रसाद जैसीले सरकारले गरेको सम्मानले थप उत्साह मिलेको भन्दै उद्योग दर्ताको झण्झट, पूर्वाधारको समस्या र अस्वस्थ प्रतिष्पर्धामा सरकारको ध्यानाकर्षण गराएका थिए ।

यस्तै दुबईबाट फर्किएर नेपालमा कृषि तथा पशुपंक्षी फार्म संचालन गरिरहेका उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित दोलखाका शंकर कुमार ओलीले यो पुरस्कार ग्रहण गर्न पाउँदा एकदमै खुशी लागेको बताउँदै अरुलाई पनि यसरी काम गर्न सुझाव दिए।

श्रम मन्त्री  श्रेष्ठले ८ जनालाई सम्मान गरेपनि योे समग्र वैदेशिक रोजगारबाट फर्किएर उद्यमी बनेकाहरुलाई गरिएको सम्मान भएको बताए । उनले आगामी दिनमा यस्तै उदाहरणीय उद्यमी बन्नेहरु बढने अपेक्षा राख्दै मन्त्रालयले विदेशबाट फर्किएर उद्यम गर्नेहरुलाई कसरी सहुलियत ऋण उपलब्ध गराउने भन्ने विषयमा सहयोग गर्ने विश्वास पनि दिलाए ।

यस्तै श्रम सचिव एकनारायण अर्यालले पुरस्कृत व्यक्तित्वहरु देशको नमुना भएको बताउदै समाजले उनीहरुबाट केहि सिक्नुपर्ने धारणा राखे । उनले रिर्टनी माइग्रेन्टहरुले सिकेको सीपलाई कसरी उपयोग गर्ने भनेर सरकारले सोचिरहेको र सोही अनुरुपको कार्यक्रम ल्याउन लागेको पनि जानकारी दिए ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले विगत केहिवर्षदेखि सरकारले पुरस्कार तथा सम्मान दिन थालेको हो ।

वैदेशिक रोजगारबाट फर्केर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेकाहरुबाट आवेदन माग गरि प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने गरिएको मन्त्रालयले जनाएको छ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिम मन्त्रालयले उद्यमी राष्ट्रिय पुरस्कारका लागि उद्यमीको छनौट गरेको हो। उक्त पुरस्कारको लागि मन्त्रालयले फागुन १० गतेसम्म आवेदन माग गरेको थियो।

पुरस्कार छनौटका लागि कार्यविधिमा ७ वटा आधार तोकिएका थिए। जसमा रोजगारी सृजना, पूँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, उत्पादान निर्यात गरेको अवस्था छनौटका आधार थिए । यस्तै सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदुषण व्यवस्थापन, उद्योग सञ्चालन गरेको भौगोलिक क्षेत्र पनि छनौटका आधार थिए।

यसप्रकारका सम्मानबाट विदेशबाट फर्किएकाहरुलाई आयमुलक तथा रोजगारमुलक कार्यमा लाग्न थप प्रेरणा मिल्ने विश्वास लिएको मन्त्रालयको भनाइ छ।