रोजगारीमा जाने श्रमिकसँगै ‘इकोनमिक क्लास’ मा यूएई जाँदै श्रममन्त्री श्रेष्ठ

रोजगारीमा जाने श्रमिकसँगै ‘इकोनमिक क्लास’ मा यूएई जाँदै श्रममन्त्री श्रेष्ठ

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली सोमबार दिउँसो संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ। नेपाल–यूएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि आफू नेतृत्वको एक टोली आबुधाबी जान लागेको मन्त्री श्रेष्ठले प्रवास खबरलाई जानकारी दिए।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का छन्।

टोली अपरान्ह ३ : ४० बजे एयर अरवेयिाको उडानमार्फत आबुधावी प्रस्थान गर्दैछ। वैदेशिक रोजगारीमा यूएई जान लागेका श्रमिकसँगै ‘इकोनमिक क्लास’मा बसेर आफू आबुधाबी जान लागेको मन्त्री श्रेष्ठले बताए। ‘मन्त्री भयो भन्दैमा बिजेनेश क्लास’मै हिँड्नुपर्छ भन्ने मलाई लाग्दैन। मलाई यस्तो तडकभडक मन पर्दैन,’ मन्त्री श्रेष्ठले प्रवास खबरसँग भने, ‘रोजगारीमा जाने दाजुभाई,दिदिबहिनी जसरी जानुहुन्छ, म पनि त्यसरी नै जाँदैछु। सामान्य टिकट काट्न भनेको छु।’

यूएई भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरव इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ । भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे यूएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँग मंगलबार आबुधाबीमा छलफल गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

मंगलवार नै नेपाल–यूएई संयुक्त समितिको वैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल–यूएई संयुक्त समिति वैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नेछन्। नेपाल–यूएई संयुक्त समितिको वैठकमा सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यन्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।

मन्त्री श्रेष्ठले यही कार्यक्रमकाबीच समय मिलाएर आबुधाबीस्थित नेपाली दूतावासमा नेपाली संघ–संस्थाका प्रतिनिधिसँग भेटर्वार्ता गर्ने जानकारी पनि दिए। ‘एनआरएनएलगायत यूएईमा भएका सबै नेपाली संघसंस्थाका प्रतिनिधिलाई भेटेर नेपाली कामदारले भोग्नु परेका समस्याबारेमा छलफल गर्नेछु,’ उनले भने। मंगलबार बेलुका ५ बजे दूतावासमा अन्तरक्रिया आयोजना गरिएको उनले बताए।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली बुधवार आबुधाबीबाट दुबई जानेछ। दुबईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर) मा भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले दुबईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तरक्रिया गर्नेछन्।

श्रम मन्त्रीको सचिवालयका अनुसार टोली बिहिबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्नेछ। वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ। भ्रमण टोली आइतवार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नविकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठ नेतृत्वको टोली मार्च २३ मा मंगलवार स्वदेश फर्कने कार्यक्रम छ।