अन्तालिया कूटनीतिक मञ्चमा सहभागी हुुन परराष्ट्रमन्त्री टर्कीमा, नेपालीसँग पनि छलफल गर्दै

अन्तालिया कूटनीतिक मञ्चमा सहभागी हुुन परराष्ट्रमन्त्री टर्कीमा, नेपालीसँग पनि छलफल गर्दै इस्तानबुल अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री खड्कासँग एनआरएनए टर्कीका अध्यक्ष उज्जलकुमार घिसिङ र महासचिव विनोद पौडेल

इस्तानबुल । नेपाल सरकारका परराष्ट्रमन्त्री डा . नारायण खड्का टर्की आएका छन्। ११ देखि २९ मार्चसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै डा. खड्का बुधवार विहान टर्की आइपुगेका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका महासचिव बिनोद पौडेलका अनुसार डा. खड्का नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा स्वागत गरिएको थियो।

उनका अनुसार आजै बिहान मन्त्री खड्काले इस्तानबुलमा एनआरएनएका प्रतिनिधि, नेपाली उद्यमीसँग व्यवसायका अवसरहरू र चुनौतीहरूका साथै नेपाली समुदायले सामना गर्नुपरेका समस्याबारे छलफल गर्नेछन्। ‘यहाँको नेपाली समुदायसँग भेटघाट गरेर उहाँ कार्यक्रम हुने अर्काे सिटीमा जाँदै हुनुहुन्छ,’ पौडेलले प्रवास खबरसँग भने।

राष्ट्रिय समाचार संस्था (रासस) का अनुसार खड्कालाई टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निम्तो गरेका थिए।

मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चको यस वर्षकोे विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ।

टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षी, विभिन्न मुलुकका विदेशमन्त्री तथा उच्चपदस्थ व्यक्तिहरुका साथै इस्तानबुल र अन्तालियाका उद्योग वाणिज्य सङ्घका सदस्यहरूसँग पनि छलफल र्ने कार्यक्रम छ।

नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशको सन्दर्भमा भएको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ । भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ।