हङकङमा नारी दिवस : लैंगिक समानताका विषयमा वहस
असाहय महिला तथा बालबालिकालाई आर्थिक सहयोग
काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङले संयुक्त रुपमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन्। एनआरएनए हङकङसँगको सहकार्यमा आइतबार एक कार्यक्रमको आयोजना गरी महिला दिवस मनाइएको हो।
महिला दिवस ८ मार्चमा पर्ने भएपनि हङकङका महिला दिदिबहिनीको साप्ताहिक विदालाई मध्यनजर गर्दै दुईदिन अघि नै कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा एकल महिला संस्थाकी संस्थापक अध्यक्ष तथा नेपाल मानव अधिकार संघकी सदस्य लिली थापा प्रमुख अतिथि थिइन्। यस्तै पीए नेपालकी संस्थापन अध्यक्ष इन्दिरा रानामगर र शक्ति समूहकी संस्थापक तथा अध्यक्ष चरिमाया तामाङ पनि कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागि थिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायमा नेपाली महिलाको अवस्था, उनीहरुले भोग्नु परेका समस्या, समाधानका उपायदेखि महिला सशक्तिकरण र महिला अधिकारको विषयमा संवाद भएको थियो।
कार्यक्रममा एकल महिला संस्थाकी संस्थापक अध्यक्ष तथा नेपाल मानव अधिकार संघकी सदस्य लिली थापाले लैंगिक समानता भोलिको लागि आवश्यक भएको बताइन्। उनले भनिन्, ‘यो संसारभरि नै चलिरहेको हो। नेपालमा पनि लैंगिक समानता र सामाजिक न्याय भोलिको सुनिश्चितता भनेर सरकारले विषय ल्याएको छ। महिलाको भोलिको अवस्थालाई अघि बढाउन आज नै समानता र सामाजिक न्यायमा काम गर्नुपर्छ भन्ने हो।’
थापाले विभिन्न किसिमका प्रकोप र परिस्थितिले गर्दा महिला नै पीडित हुनुपर्ने अवस्था रहेको बताइन्। यस्तोमा सरकारले महिलालाई समान न्याय र अधिकारका लागि लैंगिक सामानताको विधेयक पनि नेपालमा लागू हुन लागेको बताइन्। उनले सरकारलाई धच्धच्याउने र विधेयक लागू गराउने कुरामा महिलाहरुको प्रमुख भूमिका हुने बताइन्।
त्यस्तै, थापाले कोभिड महामारीको समयमा नेपालमा बढेको बलात्कार र महिला हिंसाविरुद्धमा सरकारले कानूनलाई लामो सजाय बनाउनका लागि अध्यादेश नै ल्याएको बताइन्। उनले भनिन्, ‘अध्यादेश नै ल्याएर भएपनि महिलाको पक्षमा कानून आएको छ, त्यो समान पक्ष हो। यसले महिलालाई न्याय दिन्छ।’
पीए नेपालकी संस्थापन अध्यक्ष इन्दिरा राना मगरले कार्यक्रममा जेलमा परेका महिलाको नागरिकता नभएको र आफूले उनीहरुकै बच्चालाई हुर्काइरहेको प्रसंग सुनाउँदै महिलाहरुले फरक-फरक किसिमको विभेद भोग्नु परेको बताइन्। उनले भनिन्, ‘लैंगिक असमानताको असर त खोपमा पनि देखिएको छ। नागरिकता नभएका आमाहरुका बच्चाहरु मैले हुर्काएको छु। उनीहरुले नागरिकता नभएकै कारण खोपसम्म लगाउन नपाएको अवस्था छ।’
राना मगरले महिलाले चारैतिर विभेद भोग्नु परेको सुनाइन्। कोभिड महामारीको समयमा आफूले महिलामाथि भएको हिंसाका घट्नाहरु देखेको उदाहरण सुनाउँदै उनले महिलाले सबैतिर विभेद भोग्नु परेको बताइन्। ‘अरु देशमा जेल चलाउने मान्छे जेलसम्बन्धी पढेको, जेललाई सुधार ल्याउन सक्ने विज्ञ राखेको हुन्छ। नेपालमा भने जेलमा सिक्दै गरेकोलाई सारिन्छ। बुझ्दै नबुझेकोलाई जेलर बनाएर पठाइन्छ,’ उनले भनिन्, ‘गरिवीका कारण ७५ प्रतिशतहरु जेलमा पुगेका छन्। निर्दोष महिलाहरुलाई गरिबीकै कारण जेलमा राखिएको छ। उनीहरु निर्दोष हुँदा पनि जेलमा बस्नु परेको छ।’
उनले जेलमा सुधार गर्नेभन्दा पनि सास्ती दिने अवस्था रहेको बताइन्। उनले भनिन्, ‘समाजमा महिलाले भोग्नुपरेको विभेदको अन्त्य उनीहरु जेलमा पुगेर हुन्छ। कति धेरै समाजका महिलाहरुसँग नागरिकता छैन्, उनीहरुलाई सरकारले हेरेको छैन्, समाजले हेरेको छैन्। उनीहरुले समाजमा सास्ती मात्रै भोगिरहेका छन्।’
शक्ति समूहकी संस्थापक तथा अध्यक्ष चरिमाया तामाङले अधिकांश महिलाको समस्याबारे नेपाली समाज ज्ञात भएको तर, यसको समाधान नभएको बताइन्। उनले आफ्नो संस्था ‘शक्ति समूह’का महिलाहरु हिजो मानव बेचबिखनमा परेर आज त्यसविरुद्धमा जुटेका महिलाहरु भएको बताउँदै महिलाको समस्याको कुरा मात्रै नभएर सकरात्मक सोचसहित अघि बढ्न आवश्यक भएको बताइन्।
‘समस्यामा सकरात्मक सोचसहित कसरी अघि बढ्न सकिन्छ ? भन्ने सोच्नुपर्छ,’ उनले भनिन्, ‘जीवनका हरेक पलबाट मानिसले सिक्छ। अझ त्यसमा विगतका तितो अनुभवहरुले भोलिको लागि आजको दिनमा सिकाईको खुड्किलो बनाएर हिड्नुपर्ने यर्थाथपरक छ।’ यसको उदाहरण आफू पनि भएको उनले बताइन।
महिला सहभागिता उपस्थितिको लागि मात्रै नभएर अर्थपूर्ण भूमिकामा आवश्यक रहेको उनको भनाइ छ। उनले भनिन्, ‘अर्थपूर्ण भूमिका निभाउन हाम्रो समाज, राष्ट्र, राज्यसत्ता सबैको सहयोग आवश्यक छ।’ परिवर्तन आफैंबाट खोज्नु पर्ने तर, त्यसलाई सफल बनाउन परिवारदेखि राज्यको नीति नियमजस्ता कुराहरुको साथ र सहयोग आवश्यक रहेको उनले बताइन्।
कार्यक्रममा एनआरएनए हङकङकी पूर्व अध्यक्षसमेत रहेकी टिका गुरुङ (राधिका) ले ११२ औं अन्तराष्ट्रिय महिला दिवसको महिलाहरुलाई शुभकामना र स्वागत गर्दै हङकङमा आफूहरुले २०१५ देखि विविध कार्यक्रम गर्दै आएको बताइन्।
गुरुङले महिलामाथि भइरहेको पूर्वाग्रहलाई कसरी तोड्ने ? भन्ने विषयमा बहस हुनपर्ने बताइन्। पछिल्लो समय नेपाली महिलाहरु सक्षम भएको उनको भनाइ छ।
कार्यक्रममा एनआरएन हङकङका अध्यक्ष गोकर्ण ढकालले आफूहरुले महिला अधिकारको विषयमा निरन्तर कार्यक्रम गर्दै जाने बताए। उनले आफ्नो कार्यकालमा युवा सशक्तिकरण र महिला सशक्तिकरणलाई विशेष प्राथमिकता दिने समेत बताए।
असाहय महिला तथा बालबालिकालाई आर्थिक सहयोग
कार्यक्रमकैबीच नेपालमा रहेका असाहय महिला तथा बालबालिकालाई आर्थिक सहयोग गरिएको छ।
महिला संयोजक कविता गुरुङका अनुसार महिला तथा बालबालिकाको संरक्षणमा क्रियासिल रहेका चार सामाजिक संस्था एकल महिला संस्था, पीए नेपाल, शक्ति समूह र मुस्कान नेपाललाई ५० हजारका दरले आर्थिक सहयोग गरिएको हो।
असाहय महिला तथा बालबालिकासहयोगार्थ च्यारिटीमार्फत ४ लाख ९३ हजार संकलन भएको थियो। बाँकी रकम भने आवश्यकता अनुसार अन्य च्यारिटीका क्षेत्रमा खर्च गरिने संयोजक गुरुङले बताइन्।
कार्यक्रममा एनआरएनएकी पूर्व आइसीसी महिला संयोजक सपिला राज भण्डारी, एसिया प्यासिफिक महिला संयोजक अमृता थापा कञ्चन, वर्तमान महिला संयोजक जुनु गुरुङलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
करिव तीन घण्टा चलेको कार्यक्रममा विशेष अतिथिहरुसँगै एनआरएनए हङकङ महिला विभागका पदाधिकारीहरु र नेपाली महिला संघका पदाधिकारीहरुले पनि आफ्नो कुरा राखेका थिए।
कार्यक्रमको सञ्चालन एनआरएनए हङकङकी उपाध्यक्ष अनु राईले गरेकी थिइन्।