नेपाली राजदूतावास मस्कटबाट विद्युतीय राहदानी सेवा शुरु

नेपाली राजदूतावास मस्कटबाट विद्युतीय राहदानी सेवा शुरु

काठमाडौ । नेपाली राजदूतावास मस्कटबाट विद्युतीय राहदानी सेवा शुरु भएको छ । दूताबासले मंगलबार अनौपचारिक रुपमा यसको परिक्षण गरेको थियो । परिक्षणको सफलतासँग दूतावासले सेवा शुरु गरेको छ ।

दूतावासमा अमित गिरिको विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट गरी मंगलबार देखि नै राहदानी विभागबाट विद्युतीय राहदानी प्रिन्ट समेत गरेको थियो । यससँगै नेपाली दूतावास मस्कटले ओमानमा बस्ने नेपालीलाई आजैबाट विद्युतीय राहदानीको सेवा प्रदान गर्न शुरूवात गरेको छ । दूतावासले पहिलो दिनमा दूतावासमा राहदानी नवीकरण गर्न आएका सात जना नागरिकहरूको राहदानी नवीकरणको लागि लाइभ इन्रोलमेन्ट गरेको छ ।

विद्युतीय राहदानी सेवाको परीक्षण तथा शुरूवात कार्यक्रममा नेपाल बाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल तथा आइडिमियाका कर्मचारीहरूले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए भने भौतिक रूपमा नेपाली राजदूतावास मस्कटका कार्यवाहक राजदूत सोमेश थापा, राजदूतावासका कर्मचारीहरू, ओमान स्थित नेपाली सोसल क्लबका अध्यक्ष, गैर आवासीय नेपाली संघ केन्द्रिय समितिका प्रवक्ता लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, पत्रकार तथा सेवाग्राहीहरूको उपस्थिति थियो ।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भर्चुअल माध्यमबाटै ओमानमा बसोबास गर्ने नेपालीहरूलाई विद्युतीय राहदानी सेवा लिने अवसर पाएकोमा बधाई दिए । सो कार्यक्रममा कार्यवाहक राजदूत सोमेश थापाले उपस्थित अतिथिहरू तथा सेवाग्राहीहरूलाई विद्युतीय राहदानीबारेमा छोटकरीमा जानकारी प्रदान गरे ।

राहदानी नवीकरण गर्नेहरूले आफ्नो पुरानो सक्कल राहदानी, नागरिकताको प्रतिलिपि र २० ओमानी रियाल (नगद) राजस्व साथ दूतावासमा आफैं उपस्थित हुनुपर्नेछ । राहदानी बनाउन आवश्यक फोटो लगायत अन्य बायोमेट्रिक विवरणहरू दूतावासमा लाइभ लिइनेछ ।

नाबालकको हकमा जिल्ला÷ईलाका प्रशासन कार्यालयबाट जारी नाबालक परिचय पत्र तथा राहदानी हराएकाहरूको हकमा ओमानी प्रहरीले जारी गरेको राहदानी हराएको प्रमाणपत्र थप आवश्यक पर्नेछ ।



No ads found for this position