श्रममन्त्री श्रेष्ठ यूएई भ्रमणमा जाने

श्रममन्त्री श्रेष्ठ यूएई भ्रमणमा जाने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता यूएई जाने भएका छन । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिषामा गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका बिषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेका हुन ।

नेपाली नागरिकलाई अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत साइद हमदान अल नाकीसँग आज मन्त्रालयमा छलफल समेत गरेका छन ।

मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गरे । मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिषा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्ने क्रममा सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन पनि युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ । राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरुलाई पनि आवश्यक सहयोग गर्ने बताए । मन्त्री श्रेष्ठको युएई भ्रमणको क्रममा नेपाल–युएई संयुक्त समितिको वैठक पनि आयोजना हुनेछ ।