सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको नेतृत्वमा हरि थापा निर्विरोध

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको नेतृत्वमा हरि थापा निर्विरोध

काठमाडौं । आप्रवासनको क्षेत्रमा क्रियासिल २८ वटा गैरसरकारी संस्थाहरुको छाता संगठन सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) को नयाँ नेतृत्वमा हरि थापा निर्विरोध चयन भएका छन्।

सञ्जालको सोमबार भक्तपुरको नालामा सम्पन्न १४ औं वार्षिक साधारण सभाले थापाको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । थापा वैदेशिक रोजगार पत्रकार समाजका निर्वतमान अध्यक्ष समेत हुन्।

नयाँ कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी नेपाल विकास अध्ययन संस्थानका चिरन्जीवी बरालले पाएका छन्। यस्तै महासचिवमा पीपुल फोरमका कृष्णप्रसाद न्यौपाने, कोषाध्यक्षमा एबीसी नेपालकी चाँदनी राना चयन भएकी छिन्।

यसैगरी सदस्यहरुमा महिला कानून तथा विकास मञ्चकी पविता अधिकारी, ओरेक नेपालकी सविता नेपाल, माइती नेपालकी उमा तामाङ, एनइइडीएस नेपालका प्रकाश मडै र एफएनबी नेपालका निर्मल उप्रेती चुनिएका छन्।

२०६५ सालमा स्थापित यस सञ्जालले आप्रवासनलाई सुरक्षित मर्यादित एवं व्यस्थित बनाउने र आप्रवासी श्रमिकको अधिकारलाई स्थापित गर्नका लागि पैरवी गर्ने, सञ्जालीकरण गर्ने तथा सरोकारवाला निकायहसँग समन्वय एवं सहकार्य गर्दै आइरहेको छ।