जापानमा सँगै मदिरा सेवन गरेका तीन नेपाली विद्यार्थीमध्ये एकको मृत्यु, साथीले घाटी थिचेको आशंका

जापानमा सँगै मदिरा सेवन गरेका तीन नेपाली विद्यार्थीमध्ये एकको मृत्यु, साथीले घाटी थिचेको आशंका सांकेतीक तस्वीर

काठमाडौं। जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । गोरखा घर भइ अध्ययनका लागि जापान पुगेका २२ वर्षीय सुजन बर्सिलाको मृत्यु भएको हो।

प्रवास खबरलाई जापानस्थित श्रोतले दिएको जानकारी अनुसार यो घटना गएको ७ जनवरी शुक्रबारको हो। स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानले सुजनको हत्या भएको देखाएको श्रोतले जानकारी दिएको छ । घटनाको प्रकृति तथा मृतक र आरोपित व्यक्तिहरुको सम्बन्धका आधारमा प्रहरीले सुजनको मृत्यु नभइ हत्या भएको ठहर गरेको छ ।

मृतक सुजन शुक्रबार सोही विद्यालयमा अध्ययरत आफ्ना दुई जना नेपाली साथीसँग बसेर मदिरा सेवन गरेको बताइएको छ। स्थानीय प्रहरी उनैसँगै बसेर मदिरा सेवन गरेका साथीले हत्या गरेको निष्कर्षमा पुगेको श्रोत बताउँछ।

‘पोस्टमार्टम रिपोर्टमा घाटी थिचेर हत्या भएको देखिएको हामीले जानकारी पाएका छौँ । यसको औपचारिक पुष्टि भने अझै भइसकेको छैन्,’ श्रोतले जापानबाट टेलिफोन सम्पर्कमा प्रवास खबरलाई जानकारी दियो।

श्रोतका अनुसार स्थानीय प्रहरीले सुजनको हत्याको आरोपमा ढकाल र मगर थर गरेका दुई नेपाली विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुबीच बिहीवार विवाद समेत भएको समेत बताइएको छ। उनीहरु तीनै जनाले शुक्रवार सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए। अघिल्लो दिनको विवाद बढेपछि आवेशमा आएर सुजनको हत्या भएको घटनाक्रमले देखाएको छ।

हत्या भएपछि ती दुई जनाले एम्बुलेन्सलाई खबर गरेका थिए। तर,एम्बुलेन्समा त्यहाँ पुगेका स्वास्थ्यकर्मीलाई घटनाको प्रकृति हेर्दा शंका लागेपछि प्रहरी बोलाइएको थियो। प्रहरीले सुरुमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपनि छोडिएको थियो । तर, घटना शंकास्पद देखिएपछि पुन : पक्राउ गरेको श्रोतले जानकारी दियो।

यसविषयमा थप बुझ्न प्रवास खबरले जापानस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शिवप्रसाद पौडेललाई सम्पर्क गरेको थियो। पौडेलले पनि घटनाबारे आफूले सुनेको तर, आधिकारिक जानकारी प्राप्त गरिनसकेको बताए।

‘अस्ति तीन जना भाइहरु सँगै बसेर खानपिन गरेको तर, तीमध्ये एक जना अर्काेदिन मृत भेटिएको भन्ने छ,’ अध्यक्ष पौडेलले प्रवास खबरसँग भने, ‘तर, मृत्यु के–कसरी भयो भन्ने विषयमा हामीले औपचारिक जानकारी अझै पाइसकेका छैनौं। बुझ्दै छौँ।’