रोजगारीको नाममा मानव तस्करी : ओमन पुर्‍याएर नेपाली महिलाई बनाइयो बन्धक

रोजगारीको नाममा मानव तस्करी : ओमन पुर्‍याएर नेपाली महिलाई बनाइयो बन्धक

काठमाडौं। मानव तस्करका दलालले खाडिमुलुक ओमनमा एक नेपाली महिलालाई बन्धक बनाएका छन्। मानव तस्करीको गिरोहले नवलपरासीको विनयीؘ–त्रिवेणी गाउँपालिका–४ सर्दी पिदरी स्थायी घर भएकी चन्द्रिका कुमारी चौधरीलाई ओमन पुर्याएर बन्धक बनाएका हुन्।

चन्द्रिकालाई बर्दघाटकी दिलु गुरुङ नाम गरेकी एजेण्टले विदेशमा राम्रो कमाइ हुने लोभ देखाएर ओमन पठाएकी थिइन्। तर, त्यहाँ पुगेपछि काम नदिइ बन्धक बनाएको उनका श्रीमान सान्ता पंजियारले प्रवास खबरलाई बताए।

उनका अनुसार श्रीमती चन्द्रिकालाई गुरुङले गत १९ डिसेम्बरमा नेपालबाट ओमनका लागि उडाएकी थिइन्। त्यसपछि चन्द्रिकाले अहिलेसम्म्म एकपटक मात्रै सम्पर्क गरेको र त्यत्तिबेला उनले आफू समस्यामा परेको भन्दै नेपाल झिकाउन आग्रह गरेको श्रीमान सान्ताको भनाइ छ।

‘केहीदिन अघि कहाँबाट अनलाइनमा आएर एकपटक मात्रै सम्पर्क गरेको थियो। उसलाई समस्या परेको रहेछ। रुँदै आफूलाई नेपाल झिकाउन भनेको थियो,’उनले भने, ‘त्यसपछि फेरि सम्पर्क भएको छैन। अहिले कहाँ कस्तो अवस्थामा छ, केही अत्तोपत्तो छैन। गएको २०/२१ दिन भइसक्यो।’

श्रीमती समस्यामा परेपछि सान्ताले नेपालबाट पठाउने गुरुङलाई सम्पर्क गरेका थिए। तर, त्यत्तिबेला गुरुङले श्रीमतीलाई फर्काउनुपर्ने भए साढे ४ लाख रुपैयाँ लाग्ने बताएको उनको भनाइ छ।

‘फोन गरेर उसलाई जानकारी गराउँदा साढे ४ लाख रुपैयाँ लाग्ने बताएको थियो। त्यसपछि भने हाम्रो फोन उठाउदैन्। कहिले फोन नै काट्दिन्छ,’ उनले भने ।श्रीमतीको उद्धारमा एजेण्टले चासो नदेखाएपछि सान्ताले अहिले जिल्लामा रहेको आप्रवासी श्रोत केन्द्रमा निवेदन दिएको बताए।

श्रीमतीलाई ओमन पठाएवापत गुरुङले ३० हजार नेपाली रुपैयाँ लिएको श्रीमान सान्ता बताउँछन्। गुरुङले रोजगारीको लागि ओमन पठाइदिने बताएता पनि सुरुमा चन्द्रिकालाई भिजिट भिसामा यूएई पुर्याइएको खुल्न आएको छ। चन्द्रिकाले आफ्नी बहिनीलाई म्यासेन्जरमा पठाएको अडियोमा आफूलाई सुरुमा दुबई लगेर एक हप्तासम्म राखेको र त्यसपछि मात्रै ओमन पठाएको बताएकी छिन्।

चन्द्रिकालाई दुबईमा स्थानीय नेपाली एजेण्ट राजु श्रेष्ठले रिसिभ गरेका थिए। उनै राजुले दुबईमा एक हप्तासम्म राखेर ओमनको घरेलु कामदार आपूर्ती गर्ने ‘इस्र्टनगेट हाउसमेड रिकुरमेन्ट’ कम्पनीलाई बेचेको खुल्न आएको छ। ओमन लगेपछि उक्त कम्पनीले त्यहाँ आफूलाई यातना दिएको, डर धम्की दिएर कोठाभित्रै थुनेर राखेको उनले बहिनी प्रतिमा पंजियारलाई पठाएको अडियोमा सुन्न सकिन्छ।

अडियोमा चन्द्रिकाले उनीहरुले सिम किन्न पनि नदिएकोले आफूसँग सम्पर्क गर्नको लागि कुनै माध्यम नभएको बताएकी छिन्। ‘दिदिसँग सिम पनि रहेनछ। एक दिन कताबाट ‘फ्रि’ वाइफाइ टिप्ने ठाउँमा पुगेर म्यासेज पठाएको रहेछ,’ बहिनी प्रमिताले प्रवास खबरसँग भनिन्,‘उहाँलाई त्यहाँ धेरै समस्या छ। जसरी पनि नेपाल झिकाइदिन गुहार माग्नु भएको छ।’ दिदिलाई ओमनको कुन ठाउँमा भन्ने आफूहरुलाई केही जानकारी नभएको प्रतिमाले बताइन्।

यसविषयमा बुझ्न प्रवास खबरले चन्द्रिकालाई पठाउने एजेण्ट गुरुङलाई सम्पर्क गरेपनि उनको फोन उठेन। उता दुबईमा रहेका मुख्य एजेण्ट भनिने राजु श्रेष्ठले भने प्रवास खबरसँग आफूले कसैलाई अलपत्र नपारेको दावी गरेका छन्।

प्रवास खबरसँग टेलिफोनमा छोटो कुराकानी गर्दै उनले भने, ‘मैले कसैलाई केही गरेको छैन। यदि गरेको छु भने सम्बन्धित मान्छेलाई नै मसँग कुरा गर्न लगाउनुहोला।’ प्रवास खबरले थप जिज्ञाशा राख्दा उनले फोन काटेका छन्।

यता दिदिको कुनै अत्तपत्तो नभएपछि बहिनी प्रतिमाले अवस्था बुझिदिन भन्दै आइतबार ओमनस्थित गैरआवासीय नेपाली सोसल क्लबका अध्यक्ष विकल झालाई अनुरोध गरेकी थिइन्। त्यसपछि अध्यक्ष झाले उक्त हाउसमेड सप्लाइ गर्ने कम्पनीको म्यानेजरसँग सम्पर्क गरेर उनको अवस्थाबारे जानकारी लिएका थिए।

‘म्यानपावरको म्यानेजरसँग मेरो कुरा भएको थियो, अफ्रिकन महिला रहेछ । कुरा हुँदा याताना नदिएको भन्ने बताएको थियो। उहाँ नेपाली बहिनी पनि उसँगै हुनुहुँदो रहेछ । मैले आग्रह गरेपछि उसले (म्यानेजर) ले उहाँ बहिनीसँग पनि कुरा गराएकी थिइ। १० दिनदेखि उहाँलाई अफिसमै राखेको रहेछ। उहाँको नेपाल फर्किन चाहाना छ ,’ अध्यक्ष झाले प्रवास खबरसँग भने।

अध्यक्ष झासँगको कुराकानीमा ती म्यानेजरले चन्द्रिकालाई परिवारसँग सम्पर्क गराउन नसकेको स्वीकार गरेकी थिइन्। तर, ती म्यानेजरले चन्द्रिकालाई आजैदेखि एउटा घरमा काममा पठाउन लागिएको बताउँदै अब कुनै समस्या नहुने अध्यक्ष झासमक्ष जानकारी गराएकी थिइन्।

‘आजै कामको लागि एउटा घरमा पठाउँदै रहेछ। त्यहाँ के कस्तो हुन्छ, त्यसपछि मात्र कसरी प्रक्रिया बढाउने भन्ने थाहा हुन्छ,’ झाले भने। चन्द्रिकाले नेपाल फर्किन चाहेपनि उक्त कम्पनीले उनलाई ल्याउँदा एजेण्टलाई थुप्रै पैसा दिएको र उक्त पैसा तिरेपछि मात्रै फिर्ता पठाइदिने बताएको छ।

अध्यक्ष झाले विगत केही महिनादेखि श्रम स्वीकृति नलिइ रोजगारीको लागि ओमन आउने महिलाको संख्या बढ्न थालेको बताउँछन्। यसरी आएका कतिपय महिला समस्यामा परेपछि मात्रै उद्धारको लागि पहल गरिदिन भन्दै आउने गरेको उनको भनाइ छ।

‘जब समस्यामा पर्नुहुन्छ, तब हामी कहाँ समस्या लिएर आउनुहुन्छ । धेरै केसहरुमा हामीले दूतावाससँग समन्वय गरेर काम गरिरहेका छौँ,’ झाले सुनाए। नेपालबाट श्रम स्वीकृति नलिइ जाँदा त्यहाँ समस्या सल्टाउन कानूनी अडच्न आउने र प्रक्रिया लामो हुँदा समय समेत धेरै लाग्ने उनको अनुभव छ।