मलेसियाकाे जेल अनुभव : ‘७ जनाको जेलभित्रै मृत्यु देख्दा ज्युँदै फर्किन्छु भन्ने आश थिएन’
काठमाडौं। तनहुँका बेलबहादुर थामी सन् २०१४ मा वैदेशिक रोजगारीको लागि मलेसिया उडेका थिए। उनलाई एजेण्टले त्यहाँ पुगेपछि राम्रो काम र तलव दिलाइदिने प्रलोभन देखाएको थियो।
नेपालमा एजेण्टले भनेकै सेवासुविधा नपाएपनि बेलबहादुरले त्यहाँ ६ वर्षसम्म एउटै कम्पनीमा काम गरे। उनी कार्यरत जेबीजीसी कम्पनीले कम्प्युटर सम्बन्धी हार्डवयर सप्लाइको काम गर्दथ्यो। बेलबहादुर पार्ट पुर्जा बनाउने डिपार्टमेण्टमा सहयोगी थिए।
९ सय तलब र ओभरटाइम गरेर मासिक १४ सय मलेसियन रिंगेटसम्म बेलबहादुरको कमाइ हुन्थ्यो। ६ वर्षसम्म ठिकै चलिरहेको कम्पनी त्यसपछि भने विस्तारै चल्न छोड्यो। बेलबहादुरको भिसाको म्याद पनि सकिदैँ थियो। तर, कम्पनीले भिसा थप्ने सुर नै गरेन।
भिसा नवीकरण नहुनेभएपछि उनीसँगै गएका कतिपय साथी नेपाल फर्किए। तर,बेलबहादुरलाई भने अझै पैसा कमाउने इच्छा जाग्यो। उनले घर नफर्किने सोच बनाए।
यहीबीचमा उनलाई मलेसियाको अर्काे एउटा सुरक्षा गार्ड सप्लाई गर्ने कम्पनीबाट प्रस्ताव आयो । उक्त कम्पनीका मालिकले भिसा लगाइदिने र मेडिकल रिपोर्ट लिएर आउन भनेका थिए। बेलबहादुरले पनि नयाँ काम पाइने आशामा मालिकले भनेजस्तै गरे। नयाँ कम्पनीमार्फत सुरक्षा गार्डको काम सुरु गरे।
तर, मालिकले भने पहिला आश्वासन दिएकाे कुरा पूरा गरेनन्। भिसा लागेन। बेलबहादुर अवैधानिक हैसियतमा पुगे। गैरकानूनी रुपमा काम गर्दा आफूलाई धेरै गाह्रो परेको बेलबहादुर बताउँछन्। ‘भिसा नहुँदा धेरै समस्या झेल्नु पर्यो। प्रहरी चेकजाँचमा लुकेर बाँचिन्थ्यो,’ उनले सुनाए।
सन् २०१९ देखि मलेसिया सरकारले आफ्नो मुलुकमा रहेका अवैधानिक विदेशी नागरिकलाई स्वदेश फर्कन आममाफी कार्यक्रम (ब्याक फर गुड)को अवसर दियो। यो अवसरको सदुपयोग गरेर हजारौँ नेपाली मलेसियाबाट स्वदेश फर्किए पनि । तर, बेलबहादुरले भने यो अवसरको सदुपयोग गरेनन्। उनले अझै लुकेरै काम गर्ने निधो गरे।
यता मलेसियन सरकार भने आममाफीको अवधी सकिएसँगै अवैधानिक आप्रवासीलाई कानूनी कारवाही गर्ने हेतुले कडा अप्रेसनमा ओर्लियो। अध्यागमन विभागले विभिन्न स्थानमा छापा मार्न थाल्यो। अवैध कामदारको हकमा जरिवाना रकम तथा जेल सजायको अवधि पनि बढायो।
कोभिड–१९ भाइरसका कारण मलेसिया लकडाउनमा थियो। त्यहीबेला मलेसियन सरकारले अवैध आप्रवासीलाई धमाधम पक्राउ गर्न थाल्यो। सन् २०२१ को १३ अक्टुबरमा बेलबहादुर पनि पक्राउ परे। कम्पनीमा काम गरिरहेका बेला अध्यागामान विभागका अधिकारीले उनलाई समातेका थिए।
‘पासपोर्ट मागेको थियो। तर, मालिकसँग भएकोले देखाउन पाएन। भिसा नभएकोले आइडी कार्ड पनि थिएन। केही प्रमाण छैन भनेर समाती हाल्यो,’ पक्राउ पर्नेबेलाको क्षण सम्झदैं उनले भने,‘हतकडि लगाइदियो,’ फोटो खिच्यो, अनि पेकनास जेलमा लगेर थुनिहाल्यो।’
मलेसियाको जेल निकै कष्टपूर्ण रहेको बेलबहादुर बताउँछन्। जेलमा बेलबहादुरसँगै अन्य विभिन्न देशका कैदी पनि थिए। जेलमा आफूलाई प्रहरीले धेरै पटक लठीले हानेर उठबस गराएको उनले बताए।
मलेसियका जेलमा मानवीयता नहुने बेलबहादुर सुनाउँछन्। ‘खाना एकदमै थोरै दिने, पेट पनि नअघाउने। आदि पाकेको खाना हुन्थ्यो। तरकारी त अझ खाली पानीमा उमालेको बन्द गोभी। पिउने पानिको पनि उस्तै समस्या,’ बेलबहादुरले जेलको भोगाइ सुनाए। जेलमा रहँदा उनलाई लाग्थ्यो– ठूलो गल्ती गरेको छैन्। कसैको चोरेको, कसैलाई मारेको पनि होइन। ढिलो चाँढो नेपाल फर्किन पाइन्छ।
त्यति मात्रै कहाँ हो र ? मलेसियाको जेलमा बेलबहादुरको अझ धेरै नमिठो अनुभव छ। उनीसँगै बसिरहेका अन्य देशका ४ जनाले सिलिङ खसेर जेलभित्रै ज्यान गुमाए। बेलबहादुर भने जोगिए। आफ्नै आँखा अगाडी भएको यो घटनाले उनलाई विक्षिप्त बनायो। उनले आफूलाई असुरक्षित महशुस गर्न थाले।
त्यसको केहीदिनमै फेरि जेलभित्रै रहेका अन्य ३ जनाले कोभिड संक्रमणका कारण ज्यान गुमाए। त्यो सबै देख्दा आफूले घर फर्किने आश मारिसकेको उनले बताए। ‘अब यतै मरिने भइयो जस्तो लाग्थ्यो। जतिवेला पनि मनमा नराम्रो कुरा मात्रै खेल्ने। ज्युँदै फर्किने आश त थिएन, कोभिडको कारणले लाश पनि नेपाल नफर्किने डर थियो,’ उनले भने। जेलमा ज्यान गुमाएका साथी नेपाली नभएपनि घटनाले आफूलाई ज्यादै दुखि बनाएको बेलबहादुरले बताए।
बेलबहादुर बिहीवार सकुशल फर्किसकेका छन्। मलेसियका विभिन्न जेलहरुबाट छुटाएर बेलबहादुरसहित २५ नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा स्वदेश फिर्ता ल्याइएको हो।
संघका उपाध्यक्ष डा.बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्दार कार्यक्रममार्फत जरिवाना तिरेर जेलबाट छुटाउने,कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरु स्वदेश फर्कन बाटो खुलेको थियो।जसको लागि मलेसियास्थित नेपाली दूतावासले समन्वय गरेको थियो।
उद्धारमा सहयोग गरेकोमा एनआरएनएप्रति आभार प्रकट गर्दै बेलबहादुरले भने,‘कोही पनि अवैध भएर विदेशमा नबस्नुहोला। कसैले भिसा लगाइदिन्छु भन्दैमा भर नपर्नुहोला। अवैध भएर बस्दा मैले धेरै दु : ख पाएँ।’ बेलबहादुरले आफू फेरि विदेश नजाने र जे जस्तो काम भए पनि नेपालमै गरेर परिवारसँग बस्ने बताए।
यो पनि पढ्नुहोस्
मलेसियामा मृत्युदण्डबाट जोगिएर नेपाल आइपुगेका राजकुमार भन्छन्– अर्काे जुनी पाएँ
एनआरएनएको सहयोगमा मलेसियाको जेलमा रहेका २५ नेपाली स्वदेश आइपुगे