मलेसियामा मृत्युदण्डबाट जोगिएर नेपाल आइपुगेका राजकुमार भन्छन्– अर्काे जुनी पाएँ

मलेसियामा मृत्युदण्डबाट जोगिएर नेपाल आइपुगेका राजकुमार भन्छन्– अर्काे जुनी पाएँ मलेसियामा मृत्युदण्डबाट जोगिएर नेपाल आएका राजकुमार शाह

काठमाडौं । नेपालमै काम गरेर परिवार पाल्नलाई कुनै उपाय नदेखेपछि सप्तरीका राजकुमार शाहले विदेशीने योजना बनाए। २८ वर्षीय राजुकमार (अहिले ३८) सन् २०१२ मा परिवारकै सल्लाहमा रोजगारीको लागि मलेसिया उडे।

राजकुमार मलेसियाको जेसीवाइ कम्पनीमा मेशिन अपरेटर कामको लागि गएका थिए। याे कम्पनीमा उनले दुई वर्षसम्म जसोतसो काम गरे। तर, धैरे मिहिनेत गर्दा पनि घरको ऋण समेत तिर्ने पैसा कमाउन नसकेपछि उनले कम्पनी छोडेर अन्यत्र काम गर्ने निधो गरे। धैरै पैसा कमाउने लोभमा राजकुमारले कम्पनीबाट भागेर अवैधानिक हैसियतमा एउटा पसलमा काम गर्न थाले।

‘पैसा कमाउन नसकेपछि भागेर वियरलगायत अन्य पे पदार्थ बेच्ने एउटा पसलमा काम गरें। मेरो काम त्यहाँ रहेका अन्य कामदारलाई खाना पकाउने थियो,’ झण्डै १० वर्षपछि मलेसियाबाट बिहीवार काठमाडौं ओर्लिएका राजकुमारले प्रवास खबरसँग भने।

राजकुमार किन यत्ति लामो समयपछि स्वदेश फर्किए त ? उनको कथा भने अलि लामै हुनेवाला छ । सोचेजस्तो आम्दानी नभए पनि नयाँ पसलमा उनको दिनचर्या सामान्य किसिमले चलिरहेकै थियो। विहानै काममा निस्किएका राजकुमार राति १० बजे मात्रै कोठामा फर्किन्थ्ये। उनी लामो समय काममै व्यस्त हुन्थे।

राजकुमारले प्रवास खबरलाई बताए अनुसार उनले काम गर्ने पसलका म्यानेजरको एक जना दक्षिण भारतीय मुलका मलेसियन साथि थिए। ती व्यक्ति राजकुमारको कोठामा पनि आइरहन्थे। ती व्यक्तिले राजकुमारलाई साथीभाईकै जस्तो व्यवहार गर्थे। राजकुमारले पनि आफ्नो म्यानेजरको साथी भएपछि उनलाई सम्मान गर्थे।

ती व्यक्ति कोठमा आउँदा कहिले खाना ल्याउँथे त कहिले वियर नै बोकेर आउँथे। उनले ल्याएका चीजबीज दुवैजना सँगै बसेर खान्थे। यसरी नै ती व्यक्तिको आउजाउ चलिरहन्थ्यो। एकदिनको कुरा हो, राजकुमार रातिको १० बजे आफ्नो कामबाट कोठामा फर्कि आराम गरिरहेका थिए। करिव ११ बजेको थियो होला, ती मलेसियन व्यक्ति अर्काे साथि समेत लिएर उनको कोठामा आए। त्योदिन पनि उनले पहिले जस्तै खानेकुरा बोकेर आएका थिए।

राजकुमार पनि उनीहरुले ल्याएको खाना मिलेर खाइरहेका थिए। तर,एकैछिनमा कोठको माहोल पूरै बदलियो। साढे ११ बज्नै लाग्दा उनीहरुको कोठामा एक्कासी मलेसियन प्रहरीको एक हुल प्रवेश गर्‍यो। प्रहरीले तीनै जनालाई घेरामा हाल्यो। अकस्मात प्रहरीले घेरा हाल्दा राजकुमार छक्क परे।

प्रहरीले कोठाको खानतलासी गर्‍यो। प्रहरीले उनीहरुले ल्याएको झोलाबाट झण्डै आधा किलो गाँजा फेला पार्‍यो। बल्ल पो राजकुमारले बुझे आफ्नो कोठामा प्रहरी आउनुको कारण।

‘उनीहरुले प्लाष्टिकमा हालेर झोलाभित्र लुकाइ आधा किलो गाँजा ल्याएका रहेछन्। मलाई यसबारे केही पनि थाहा थिएन। प्रहरीले झोला खोलेर हेर्दा मात्रै थाहा पाएँ,’ लागूऔषध कारोवारमा आफू संग्लन नभएको दावी गर्दै राजकुमारले भने।

राजकुमारको कोठामा आइरहने म्यानेजरको त्यो साथी मलेसियन प्रहरीको सर्वाधिक खोजीको सूची (मस्ट वाण्टेड) मा रहेछन् । उनीहरु तीनै जनालाई प्रहरीले हतकडी लगायो । ‘त्यो त ‘मस्ट वाण्टेड लिष्ट’मा रहेछ मलाई थाहा थिएन। प्रहरीले उनीहरुसँगै मलाई समेत पक्राउ गर्‍यो,’ राजकुमारले त्यसदिनको कुरा सुनाए।

प्रहरीको उच्च निगरानीमा भएकोले सुरक्षित हुन ती व्यक्ति राजकुमारको कोठामा आउँदा रहेछन् । श्रमिक बस्ने ठाउँमा प्रहरीले शंका नगर्ने भएपछि उनले राजकुमारको कोठालाई सुरक्षित ठान्दा रहेछन्। ‘उसले पहिलेदेखि नै आगूऔषधको कारोवार गर्दाे रहेछ। प्रहरीबाट बच्न मेरो कोठामा आउँदो रहेछ । ‘बोस’कोे साथी भएको हुनाले बस्न दिएँ। मलाई समेत फसायो,’ उनले भने।

पक्राउ पर्नेबेला राजकुमारले आफ्नो गाँजा कारोवार संग्लनता नभएकोले पक्राउ नगर्न आग्रह गरिरहेका थिए। तर, कोठामै तस्करीसँगै रंगेहात फेला पारेको प्रहरीले उनको आग्रह सुन्ने कुरै भएन । ‘गाँजाको बारेमा मलाई केही थाहा छैन्, यसमा मेरो केही दोष छैन, मलाई छोडिदिनुहोस् भनिरहेँ,’ पक्राउ पर्ने दिनको त्यो क्षण सम्झिदैँ उनी भन्छन्,‘प्रहरीले मेरो कुरा के सुन्थेयो र ? तीनै जनालाई गाडीमा हालेर लग्यो।’ उनीहरु सन् २०१५ को १० मार्चमा पक्राउ परेका थिए।

मलेसियामा मृत्युदण्डबाट जोगिएर नेपाल आएका राजकुमार शाह

प्रहरीले गाँजा सेवन गर्ने/नगर्ने छुट्याउनको लागि आफ्नो पिसावसहित स्वास्थय परीक्षण समेत गरेको उनको भनाइ छ। ‘चेकजाँच गर्दा मैले गाँजा सेवन गरेको केही प्रमाण भेटिएन। तर, तस्करीसँगै पक्राउ परेको भएर उनीहरुसँगै मलाई पनि मुद्दा चलाइयो।’

त्यसपछि उनी कैयौँ पटक अदालत पुगेर बयान दिए। ‘मुद्दा चलिरहेको थियो । तर, म भने एउटा कुरामा ढुक्क थिएँ। जे–जे भएपनि आखिर मैले गल्ती केही गरेको छैन्,एकदिन त अवस्य निर्दाेष सावित हुन्छु,’ राजकुमारले विगत सम्झिए।

तीन वर्ष ४ महिनासम्म उनको अदालमा मुद्दा चलिरहयो । निर्दाेष सावित हुनेमा विश्वसत रहेका राजकुमारको होस त्यतिबेला उड्यो जतिबेला उनलाई उच्च अदालतले फाँसीको सजाय सुनायो। सन् २०१८ को २९ जुलाइमा उच्च अदालतले राजकुमारसहित तीनै जनालाई ‘लागूऔषध’ कारोवारमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको थियो । मलेसियाको जोहोरबारु शहरबाट २९०.७६ ग्राम गाँजा तस्करी गरेको आरोप उनीहरुमाथि थियो।

अदालतले फाँसीको सजाय सुनाएपछि भने उनले नेपाल फर्किन पाउँछु भन्ने आश मारिसकेका थिए। ‘जब फाँसीको फैसला भयो, त्यसपछि त मेरो दिमागले पनि काम गर्न छोड्यो । अब यतै मरिन्छ भन्ने कुरा मात्रै मनमा खेल्थ्यो,’ उनी मलेसियाका ती कहाली लाग्दा दिन सम्झिन्छन्। त्योबेला परिवारको यादले झनै पीडा दिने गरेको उनी बताउँछन्।

तर, राजकुमारले हार भने खाएनन् । उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँस्थित नेपाली दूतावासको आर्थिक र अन्य सहयोगमा आफूले माथिल्लो अदालतमा पुनरावेदन गरेको राजकुमारले बताए। मुद्दा लड्नको लागि राजकुमारलाई भारतीय मूलकी वकिल करणजीत कौरले सहयोग गरिन्।

मृत्युदण्डको सजाय पाएका राजकुमारले पुनरावेदन गर्दा आफूमाथि लगाइएको अभियोग नै घटाएर पुनरावेदन गरेका थिए। अन्नत : सन् २०२० को १३ जुलाइमा माथिल्लो अदालतले राजकुमारको पुनरावेदनलाई सदर गरिदियो। त्यसपछि उनको सजाय घटाएर १० वर्ष जेल र १० कोर्रा हान्ने ‘छडीले हिर्काउने’ सजाय सुनाइयो।

मलेसियामा विभिन्न घटनामा दोषीलाई कोर्राले हिर्काउने चलन छ। यस सजायको मानव अधिकारवादी संस्थाहरुले भने विरोध गर्दै आएका छन्। ‘पुरानवेदन गरेपछि फाँसीको सजायबाट जोगियो। तर, दश कोर्रा हान्यो । बिना गल्तिमा सजाय भोग्नु पर्याे,’ घटनामा शतप्रतिशत निर्दाेष रहेको दावी गर्दै राजकुमारले भने।

उनलाई २०२१ को मार्च महिनामा मलेसियाको कुलवान जेलमा कोर्रा हानिएको थियो। कोर्रा हान्दाको पीडा खपिनसक्नु भएको राजकुमार बताउँछन् ।‘छाताको डन्डी जस्तो लौरो अघिल्लो दिनदेखि एसिडमा भिजाएर राख्दो रहेछ। अर्काेदिन त्यसैले हान्यो । असह्य पीडा भयो। बस्नै नमिल्ने भएको थियो,’ त्योबेलाको पीडादायी क्षण सम्झदैँ उनले भने।

कोर्रा हानेको एक महिनासम्म खाना खान समेत गाह्रो परेको उनी बताउँछन् । एक महिनासम्म आफ्नो मानसकि अवस्था पनि विग्रेको उनले सुनाए। प्रहरीले हानेको कोर्राको डामहरु उनकोे शरीरमा अहिले पनि देखिन्छन्। ‘यी डामहरु जिन्दगीभर नजाने रहेछ। किनभने यसमा एसिड परेको छ,’ उनले भने।

कोर्राको पीडा भुलाउन आफूले जेलभित्रै लागूऔषध समेत सेवन गरेको उनले सुनाए । ‘कोर्राले हानेको ठाउँमा ज्यादै दुखेपछि मैले जेलभित्रै दुई पटक ‘ड्रग्स’ खाएको थिएँ । पैसा हुने हो भने त्यहाँ त जेलभित्रै जे पनि पाइँदो रहेछ,’ उनी भन्छन्।

परिवारसँग झुट बोलिरहे राजकुमार

राजकुमारका नेपालमा श्रीमतीसहित तीन छोराछोरी थिए। प्रहरीले पक्राउ गरेको तीन महिनापछि मात्रै उनले घरमा श्रीमतीलाई फोन गरे आफू जेलमा परेको जानकारी गराएका थिए। आफ्नो केही गल्ती नभएकोले चाँडै छुटेर नेपाल आउन परिवारलाई आश्वसन दिइरहे।

मृत्युदण्डको फैसला भइसकेपछि पनि उनले घरमा यसविषयमा जानकारी गराएनन् । घरबाट भाइले फोन गररे सोधपुछ गर्दा केही समयपछि सफाइ पाउने र नआत्तिन भन्दै झुट बोलिरहे।

‘मैले माथिल्लो अदालतले मृत्युदण्डको निर्णयलाई रोकेपछि मात्रै घरमा सबै सत्य कुरा बताएको थिएँ। आफू त पीडामा थिएँ नै, परिवारलाई पनि किन तनावमा राख्ने भनेर यसो गरेँ,’ उनले भने,‘आखिर सत्य–सत्य नै हुन्छ । मेरो जीत भयो, सकुशल नेपाल फर्किनपाएँ।’

मृत्युदण्डबाट जोगिएर नेपाल फर्किदा

राजकुमारले १० वर्षपछि विहीवार राति जन्मभूमीको पाइला टेकेका छन्। विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिदा उनी ज्यादै हर्षित देखिन्थे। राजकुमारले आफ्नो जेलजीवन फेरि समिझन चाँहदैन थिए। तर, प्रवास खवरले अनुरोध गरेपछि उनी विस्तारै खुल्दै गए। आफूले त्यहाँ भोगेका सबै दुःख सुनाए।

स्वदेश फर्किएपछि उनलाई भगवानप्रति पनि विश्वास बढेको छ। ‘सबै कुरा भगवानले हेर्दा रहेछन्,’ उनी भन्छन्। उनी आफूले अर्काे जुनी पाएको बताउँछन्।

मलेसियामा हण्डर खाएर फर्किएका उनले अब कहिल्यै विदेश नजाने बताए। उनी मलेसियामा प्रहरीले हानेको कोर्राको डामहरु देखाउँदै प्रवास खबरसँग भन्दै थिए ‘धेरै दुः पाएँ ।अब जे काम भए पनि नेपालमै गर्छु। परिवारकै साथमा बस्छु।’

प्रवास खबरसँग मलेसियामा आफूले भोगेको दु : ख सुनाउँदै राजकुमार

आफ्नो दुःख सुनाउँदै गर्दा उनले आफूसँगै जेलमा रहेका अरु नेपाली साथीहरुको पनि पीडा सुनाए। उच्च अदालतले फाँसीको सजाय सुनाएपछि उदयपुर कटारीका कमल तामाङले जेलभित्रै आत्महत्या गरेको उनले बताए । ‘कमल तामाङलाई पनि उच्च अदालतले फाँसी सुनाएको थियो । मैले बारम्बार उसलाई सम्झाएको पनि थिएँ, सुप्रिम कोर्ट बाँकी छ, त्यहाँ गरेर जितिन्छ भनेर । तर, उसले त अत्तालिएर आत्महत्या पो गरेछ। त्यसो गर्नु हुँदैन्थये उसले हतार गर्‍यो।’

यसरी भयो उद्धार सम्भव

विहीवार मलेसियाको जेलमा कैदी जीवन विताइरहेका राजकुमारसहित २५ नेपालीलाई एउटै उडानमा स्वदेश फर्काइएको छ । मलेसियका विभिन्न जेलहरुबाट छुटाएर २ महिलासहित २५ नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा स्वदेश फिर्ता ल्याइएको हो।

संघका उपाध्यक्ष डा.बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्दार कार्यक्रममार्फत यी २५ नेपाली स्वदेश फर्किन सम्भव भएको हो।

उपाध्यक्ष डा. केसीको पहलमा एनआरएनए एनसीसी मलेसिया र क्वालालम्पुरस्थित नेपाली दूतावासले उनीहरुलाई स्वदेश फर्काउन समन्वय गरेका थिए। संघले जरिवाना तिरेर जेलबाट छुटाउने,कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरु स्वदेश फर्कन बाटो खुलेको थियो।

संघले राजकुमारसहित २५ नेपालीलाई स्वदेश फिर्ता ल्याएको थियो

‘म जेलमा परेको खवर दूतावासमार्फत एनआरएनएका सरहरुले पाउनु भएको रहेछ। एनआरएनएको सहयोगमा मसहित अरु जेलमा रहेका २५ जना साथिहरु एकपटक नेपाल आएका हौँ। म धेरै खुशी छु। यसका लागि एनआरएनएका सरहरुलाई धेरै धन्यावाद दिन चाहान्छु,’ उनै मृत्युदण्डबाट जोगिएर आएका राजकुमारले भने।

काठमाडौं ओर्लिएपछि उनीहरुलाई संघको समन्वयमा प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को सेल्टरमा बसोबासको व्यवस्था गरिएको थियो। उनीहरुलाई संघका स्वयम्सेवकले विमानस्थलमै पुगेर रिसिभ गरेका थिए।

बेखर्ची भएर आएका उनीहरुलाई आ–आफ्ना गन्तब्यसम्म पुर्याउन एनआरएनएले नै यातयात खर्च उपलब्ध गराएको थियो।

संघले राजकुमारसहित २५ नेपालीलाई स्वदेश फिर्ता ल्याएको थियो



Leave a Reply

Your email address will not be published. Required fields are marked *