यूएईमा छुरा प्रहार गरी लुटपाट गर्ने दुई जनालाई जेल

दुबई । आफ्नो सवारी साधनमा यात्रा गर्दै गरेका एक व्यक्तिलाई छुरा प्रहार गरी लुटपाट गरेको अभियोगमा यूएईमा दुई जना विदेशीलाई जेल सजाय सुनाइएको छ।
दुबईको फौजदारी अदालतले ती दुई अभियुक्तलाई २ वर्ष जेल सजाय र ८ हजार २०० दिराम जरिवाना तोकेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
ती लुटिने व्यक्ति एसियाली मूलका थिए। उनलाई लुटपाट गरी बैंकको कार्ड प्रयोग गरेर किनमेल गरेको पाइएपछि ती दुई जना दोषी ठहर भएका हुन्।
अदालतले ती दुबै जनालाई जेल सजाय पूरा गरेपछि देश निकाला गर्न पनि आदेश दिएको छ।
अनुसन्धान रिपोर्टका अनुसार एक एसियाली व्यक्तिले प्रहरी चौकीमा ती दुई जनाको बारेमा उजुरी गरेका थिए। पहिलो अभियुक्तले पीडितको अनुहारमा चक्कु र धेरैपटक मुक्का प्रहार गरेका थिए। अर्को अभियुक्तले कारमा गई पीडितसँग भएको पैसा, बैंक कार्ड र अन्य कागजातसहितको वालेट चोरेर सोही कारमा भागेका थिए। अनुसन्धान टोलीले सुरक्षा क्यामेराबाट ती दुई संदिग्ध व्यक्तिलाई पहिचान गरेका हुन्।
उनीहरुले इन्धन स्टेशनमा रहेको एक खुद्रा पसलमा पीडितको बैंक कार्ड प्रयोग गर्न खोजेका थिए। सोधपुछका क्रममा ती दुबैले आफ्नो अपराध स्वीकार गरेका छन्।
घटना भएको दिन दुबै अभियुक्तहरु दुबई वाटर क्यानल नजिकै कारमा सवार गरिरहेका थिए। उनीहरूले पीडितलाई उनको सवारीसाधनमा देखेपछि गएर लुटेका थिए।