नेपालमा पोलिटेक्निक इन्सिच्युट खोल्ने विषयमा यूएईका मन्त्री र नेपाली राजदूतबीच छलफल

नेपालमा पोलिटेक्निक इन्सिच्युट खोल्ने विषयमा यूएईका मन्त्री र नेपाली राजदूतबीच छलफल

आबुधाबी। यूएईका लागि नेपालका राजदुत कृष्णप्रसाद ढकालले यूएईका मानव संसाधन तथा इमिरेटाइजेसन मन्त्री डा. अब्दुलरहमान अब्दुलमन्नान अल अवारसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार भेटको क्रममा दुवै पक्षले यूएईमा कार्यरत नेपाली प्रवासी श्रमिकको भलाई संरक्षण एवं प्रवर्धन गर्नेतर्फ बिचार आदानप्रदान गरेका थिए। राजदूत ढकालले कोभिड–१९ महामारीको विषम परिस्थितिमा नेपाली श्रमिकप्रति दिएको चासो र नेपाल सरकारलाई महामारीविरुद्ध लड्नको लागि स्वास्थ्य उपकरण र आपूर्ति प्रदान गरेकोमा यूएई सरकारप्रति धन्यवाद प्रकट गरे।

भेटका क्रममा मन्त्री अल–अवारले नेपाली श्रमिकले आफ्नो भूमिमा देखाएको कडा परिश्रम र इमान्दारिताको प्रशंसा गर्नुका साथै श्रमिक मैत्री बाताबरणसहित यूएई विश्व श्रम बजार बन्न चाहेको बताए। २ फेब्रुअरी २०२२ देखि जारी हुने नयाँ श्रम कानुनले श्रमिकमैत्री विभिन्न प्रावधानहरु समेटेको समेत उनले जानकारी दिए। मन्त्री अल–अवारले नेपाल सरकार र यूएईबीच भएको समझदारीपत्रमा व्यवस्था भएबमोजिम श्रमिक भर्ना, रोजगारी, र श्रमिक फिर्ता गर्ने विषयमा जतिसक्दो चाँडो संयुक्त समितिको बैठक बस्नुपर्ने कुरामा जोड दिए।

भेटवार्तामा यूएईको बजारमा विशेषगरी स्वास्थ्य सेवा र इन्जिनियरिङको क्षेत्रमा दक्ष जनशक्तिको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न नेपालमा पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने लगायत नेपाली प्रवासी श्रमिकको सीप विकासमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको थियो।

बैठकमा मानव संसाधन तथा इमिरेटाइजेसन मन्त्रालयका उच्चस्तरीय अधिकारी र नेपाली दूतावासका मन्त्री काउन्सिलर तथा श्रम सहचारीको सहभागिता रहेको थियो।