‘दुबई एक्स्पो–२०२०’ मा किरात राई यायोक्खाको दमदार ‘साकेला सिली’ नाच

‘दुबई एक्स्पो–२०२०’ मा किरात राई यायोक्खाको दमदार ‘साकेला सिली’ नाच

दुबई। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी ‘दुबई एक्स्पो–२०२०’ मा किरात राई यायोक्खा, यूएई शाखाले आफ्नो सांस्कृतिक नाच साकेला सिलीको जोडदार प्रस्तुती दिएको छ। नेपाल आदिवासी जनजाति महासंघ युएईको तर्फबाट महासंघका संरक्षक पासाङ शेर्पाले एक्स्पोमा नेपाली मौलिक प्रस्तुतिको समायोजनको नेतृत्व गरिरहेका छन ।

शुक्रबार सम्पन्न कार्यक्रममा ‘दुबई एक्स्पो’ को नेपाल पवेलियनमा किरात राई यायोक्खाका कलाकारहरूले आफ्नो कला, संस्कृति र भेषभूषाको प्रदर्शन गरेका थिए। उनीहरूले मनमोहक नृत्यद्धारा विदेशी दर्शकको ध्यान पनि आफूतर्फ खिच्न सफल भएका थिए। ‘दुबई एक्स्पो’ विश्वकै ठूलो प्रदर्शनी मानिएको छ।

यो प्रदर्शनी अवलोकन गर्न विश्वभरिबाट हजारौंको संख्यामा मानिसहरू दुबई आइरहेका छन्। नेपालबाट पनि सयौंको संख्यामा नेपालीहरू मेला अवलोकन गर्न आएको नेपाल आदिवासी जनजाति महासंघ यूएई शाखाकी अध्यक्ष बिजय लक्ष्मी राईले प्रवास खबरलाई जानकारी दिए। नेपाली कलाकारले पनि प्रत्येक शुक्रबार आफ्नो प्रस्तुती प्रदर्शन गरिरहेका छन्।

‘दुबई एक्स्पो’ मा नेपाली टोलीको नेतृत्व ‘इम्प्लिमेन्टिङ एक्सर्ट ग्रुप’ आइजीले गरिरहेको छ। नेपाल पेवेलियन शुरुवातको दिन भन्दा अहिले परिस्कृत भइसकेको र आगन्तुकहरु पेवेलियनको प्रदर्शनबाट सन्तुष्ट भएर फर्किरहेको र २ जनवरीमा हुन गइरहेको नेपाल डे को तैयारी उच्चस्तरमा चलिरहेको नेपाल पेवेलियनका एक्जिक्युटिभ विवेक बस्नेतले प्रवास खबरलाई जानाकारी दिए।