यूएईमा निजी क्षेत्रका श्रमिकको कार्यअवधि श्रमकानून अनुकुल बनाउन आग्रह

यूएईमा निजी क्षेत्रका श्रमिकको कार्यअवधि श्रमकानून अनुकुल बनाउन आग्रह आबुधाबी, यूएई

दुबई। यूएई सरकारले यहाँस्थित निजी क्षेत्रका रोजगारदातालाई नयाँ श्रमकानूनको अवलम्बन गर्न आग्रह गरेको छ। सरकारले श्रमिकको ‘वकिङ आवर’ समायोजन गर्न यस्तो निर्णय गरेको हो।

सञ्चारमाध्यमसँग बोल्दै यूएईका मानव संसाधन तथा आप्रवासन मन्त्री डा.अब्दुल रहमान अल– अवारले निजी फार्महरुलाई नयाँ साप्ताहिक कार्यप्रणालीलाई अवलम्बन गर्न भनेका छन्। काममा स्वस्थ वातावरणको सिर्जना गर्न सो प्रणाली अवलम्वन गर्न लागिएको उनले बताए।

नयाँ प्रणालीले श्रमिक र कर्मचारीको उत्पादकत्व बढाउनुका साथै व्यापार वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। निजी क्षेत्रका रोजगारदातालाई उनीहरुका गतिविधिसँग मिल्ने, प्रतिस्पर्धात्मक हुने र सफलताको सुनिश्चिता हुने गरी साप्ताहिक बिदा समायोजन गर्न पनि आग्रह गरिएको हो।

हालै मन्त्रालयद्वारा घोषणा गरिएको सो श्रम कानून २ फेब्रुअरी, २०२२ देखि लागू हुने बताइएको छ।

सरकारी क्षेत्रका कर्मचारीको हकमा २०२२ को जनवरीदेखि लागू हुनेगरी सातामा साढे दुई दिन बिदा दिनु पर्नेछ। यो नियमलाई निजी क्षेत्रले पालन गर्नु नपरे पनि सरकारले नियमन गर्ने मन्त्रीले बताए। निजी क्षेत्रको सन्दर्भमा कानून केही लचिलो भएको उनले बताए।

नयाँ श्रम कानूनको व्याख्या गर्दै मन्त्रीले निजी कम्पनी तथा फार्महरुले कर्मचारी प्रतिको कानूनी दायित्व पूरा गर्नुपर्ने , श्रम सम्झौतामा उल्लेखित अधिकतम कार्यघन्टा, साप्ताहिक विश्राम र वार्षिक विदा सम्बन्धि नियम पालना गर्नुपर्ने समेत बताएका छन्। यद्यपि, निजी क्षेत्रको सन्दर्भमा बिदाको दिन भने निर्धारण गरिएको छैन।

यस विषयमा रोजगारदाता र श्रमिकको आपसी सहमतिअनुसार सम्झौता गर्न सकिने बताइएको छ। ऐनअनुसार निजी क्षेत्रका कर्मचारी वा श्रमिकले सातामा कम्तीमा एक दिन विदा भने पाउनैपर्ने छ। कम्पनीको स्वविवेकमा वा मन्त्रिपरिषद्को निर्णयबाट यसलाई बढाउन सकिने समेत बताइएको छ।

नयाँ श्रमकानून अनुसार शुक्रबार गरिने प्रार्थनाको लागि श्रमिकहरुलाई विश्राम दिन पनि रोजगारदाताहरु बाध्य हुनेछन्।

त्यसैगरी नयाँ श्रम कानूनमा श्रमबजारको दक्षता र प्रतिस्पर्धात्मकतालाई अभिवृद्धि गर्न अस्थायी, आंशिक र काम गर्ने लचिलो मोडेललाई नियमन गर्ने प्रावधानहरु राखिएको छ। लगानीकर्ता र उद्यमीकर्ताको हितलाई समर्थन गर्ने र विभिन्न आर्थिक क्षेत्रमा श्रमिकहरूको उत्पादकत्व र कार्यसम्पादनलाई परिष्कृत बनाउने विश्वास पनि मन्त्रीले व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस्

यूएई सातामा साढे ४ दिन मात्र काम लगाउने विश्वको पहिलो राष्ट्र बन्दै