प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ।

सरकारले भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गरी सुनुवाइका लागि संसद्मा पठाएको हो।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो अनुभव, योग्यता, क्षमता, सोंच र अवधारणा प्रस्तुत गर्नुहुने र त्यसमा संसदीय समितिलाई चित्त बुझेमा उनीहरुको नाम अनुमोदन हुनेछ । यसअघि समितिको आजको पहिलो बैठकमा प्रस्तावित राजदूतको नाम सिफारिमा समाबेशीताको प्रश्न उठाएर उजुरी गर्नुहुने उज्वलकृष्ण श्रेष्ठसँग छलफल गरिएको थियो।

उनीहरु तीनै जनाको संसदीय सुनुवाइका लागि यसअघि बोलाइएको बैठक आवश्यक गणपूरक सङ्ख्या न्यून भएपछि स्थगन भएको थियो । ती मुलुकमा यसअघि रहेका राजदूत नीलाम्बर आचार्य, डा युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि त्यहाँ नेपाली राजदूत खाली रहदैआएको छ।

समिति सभापति लक्ष्मणलाल कर्णले तीनैजना प्रस्तावित राजदूतको सुनुवाइ आजै सम्पन्न हुने जानकारी दिए। राजदूतको संसदीय सुनुवाइको सुरुआत बेलायतका लागि प्रस्तावित राजदूत आचार्यबाट भएको छ।