नेपाल एयरलाइन्समा मुकेश प्रधानको दादागिरी, १५ यात्रुलाई राती बिचल्ली बनाएर प्लेन दुबई उड्यो

नेपाल एयरलाइन्समा मुकेश प्रधानको दादागिरी, १५ यात्रुलाई राती बिचल्ली बनाएर प्लेन दुबई उड्यो File Photo

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जति नै ‘दबंग’ छवी देखाएपनि नेपाल एयरलाइन्सका कर्मचारीले उनको इज्जत शनिबार राती लिलाम गरेका छन्।

हालै पोखरा पुगेर निर्माणाधीन क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलका चिनियाँ कन्ट्रयाक्टरलाई कमसल काम गरेको भन्दै हप्काउन पुगेका आलेका कर्मचारीले शनिबार राती नेपाल एयरलाइन्सबाट दुबई जान लागेका १५ यात्रुलाई बिना कारण प्लेनबाट उतारेका छन्।

‘इमिग्रेसन’ को सबै प्रक्रिया पूरा गरेर प्लेन चढ्न हिँडेका यी यात्रुलाई विमान कर्मचारीले बेइज्जत गरेर प्लेनबाट उतारेका हुन्। यस विषयमा यात्रुहरूले विमानस्थलका विशिष्ठ कर्मचारी मुकेश प्रधानसँग गुनासो गर्दा यात्रुहरूलाई उल्टै थर्काएको र ‘जे गर्नसक्छौ गर’ भनेर अपमानित गरेको एक यात्रुले प्रवास खबरलाई जानकारी दिए।

यस विषयमा यात्रुहरूले गौशाला पुगेर राती साढे १२ बजे उजुरी पनि हालेका थिए। तर, प्रहरीले ‘ठूला बडाले जे पनि गर्छन’ भनेर चुप लागेर बसेको यात्रुहरूको भनाइ छ।

‘यतिको अपमानित आजसम्म हुनुपरेको थिएन। मुकेश प्रधानले उल्टै हामीलाई गाली बेइज्जती गर्ने काम गरे। राती हामीलाई बिचल्लीमा पारेर जे गर्छस् गर भनेर उल्टै धम्क्याए,’एक कर्मचारीले प्रवास खबरलाई जानकारी दिए।

विमान कर्मचारीको रवैया देखेर ‘इमिग्रेसन’ कर्मचारी पनि छक्क परेका थिए। उनीहरूले यो त एयरलाइन्सको ज्यादती भएको भन्दै यात्रुहरूप्रति सहानुभूति देखाएका थिए। ‘हामीलाई यात्रु बढी भयो भनेर अफलोड गरियो। तर, उनीहरूको कर्मचारी राखेर लगेको इमिग्रेसनका कर्मचारीबाट थाहा भयो,’ ती यात्रुले भने, ‘हामीलाई राती बिच्चली पारेर अफलोड गरिसकेपछि होटलमा राख्ने उनीहरूको कर्तब्य हो नि। त्यो मानवीयता पनि देखाएनन्।’

अफलोड गरिएका यात्रुहरुमध्ये केही बिहान तीन बजे घर फर्किए भने कोही होटल खोज्न विवश बनेका थिए। उनीहरू प्लेन चढ्न राती ८ बजे नै एयरपोर्ट पुगेका थिए। नेपाल एयरलाइन्स १५ जनालाई छोडेर सवा एघार बजे राती दुबईका लागि उडेको थियो।