यूएईको ‘नेशनल डे’ मा फ्रिमा दुबई एक्स्पो घुम्न पाइने

यूएईको ‘नेशनल डे’ मा फ्रिमा दुबई एक्स्पो घुम्न पाइने

दुबई। यूएईको राष्ट्रिय दिवसको अवसरमा दुबई एक्स्पो- २०२० को मेगा सो अवलोकन गर्न चाहने दर्शकले निःशुल्क प्रवेश पाउने भएका छन्।

१ अक्टोबरदेखि दुबई एक्स्पो–२०२० सुरु भएको थियो। त्यसयता आयोजकले विभिन्न पास र अफर प्रदान गर्दै आएको छ। यद्यपि २ डिसेम्बरमा सबैले निःशुल्क प्रवेश पाउने आयोजकले बताएको छ।

यूएईले आफ्नो देश स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा १–४ डिसेम्बरसम्म विश्वस्तरीय समारोह, असाधारण सांगीतिक कार्यक्रम, सांस्कृतिक फ्युजन (सम्मिश्रण) गरिएका विभिन्न प्रदर्शनी गर्ने बताएको छ।

२ डिसेम्बरका दिन बिहान १०:१५ बजेदेखि यूएईको राष्ट्रिय दिवस समारोह अल वासल प्लाजामा हुनेछ। समारोहमा झण्डा फहराउने, प्रवचन दिने र बाल गायकको समूहले राष्ट्रिय गान प्रस्तुत गर्ने जनाइएको छ।

यसका अतिरिक्त प्रहरीका विभिन्न कला कौशल प्रस्तुत गर्ने, घोडामार्च, कविता वाचन, हवाई प्रदर्शन, संगीतिक कार्यक्रम, वायुसेनाको प्रदर्शन, विभिन्न कन्सर्ट एवं संगीत र बाद्ययन्त्र बिनाको कविता वाचन पनि प्रस्तुत गरिने बताइएको छ।