कुल आचार्य पक्षले गर्ने भनिएको एनसीसी भेलाको भ्रममा नपर्न एनआरएनएको आग्रह

कुल आचार्य पक्षले गर्ने भनिएको एनसीसी भेलाको भ्रममा नपर्न एनआरएनएको आग्रह

काठमाडौं। कुल आचार्य पक्षधरले एनसीसीको दोस्रो भन्दै आयोजना गरेको भेलाको भ्रममा नपर्न गैरआवासी नेपाली संघ (एनआरएनए) ले विज्ञप्ती जारी गरेको छ।

संघका प्रवक्ता डिबी क्षेत्रीद्धारा मंगलबार जारी विज्ञप्तीमा उच्च अदालत पाटनको निर्णयले चुनावी माहौल तयार भएको स्थितिमा चुनाव विथोल्ने मनसायले गर्न लागिएको एनसीसी भेलाको भ्रममा नपर्न सबैसँग आग्रह गरिएको छ।

गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन रोक्न कुल आचार्य पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गराउनेदेखि कुमार पन्तको अध्यक्ष पद समाप्त गर्ने अभियानमा लागेका थिए।

तर, उच्च अदालत पाटनले गत आइतबार अन्तरिम आदेश दिँदै परराष्ट्रको पत्र तत्काल कार्यान्वयन नगराउन निर्देशन दिएपछि संघको निर्वाचन समितिले महाधिवेशनको मिति मंगलबार सार्वजनिक गरेको थियो। नयाँ तालिका अनुसार संघको चुनाव आगामी २६ र २७ डिसेम्बरमा अनलाइनमार्फत हुँदैछ

यस्तो अवस्थामा चुनावको महौल बनाउनुको सट्टा पुनः चुनाव भाँड्ने अभिप्रायले तथाकथित एनसीसीको दोस्रो भेला बोलाएको विज्ञप्तीमा भनिएको छ। संघले हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्धत्ति र आपसी छलफलबाट सम्भव हुने बताउँदै निर्वाचन बिथोल्ने कुनै पनि किसिमका गतिविधि नगर्न र नगराउन सबैसमक्ष आग्रह गरेको छ।

यसअघि निर्वाचनलाई प्रभावित पार्ने मनसायले कुल आचार्य समुहले एनसीसीको तथाकथित पहिलो भेला गरेको दावी गरेको थियो।

‘ आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले१ डिसेम्बरमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षहरुको भेला आयोजना गरिएको भन्ने खबर प्राप्त भएकोले यसै सूचनामार्फत, गलत मनसाय प्रेरित कुनैपनि भेला वा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइन्छ,’ विज्ञप्तीमा भनिएको छ।

संघले आसन्न निर्वाचनमा आ–आफ्नो स्थानबाट सहयोग गरिदिन सम्पूर्ण गैरआवासीय नेपालीसमक्ष अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस्

एनआरएनएको निर्वाचन तालिका सार्वजानिक