पोर्चुगलमा श्रमिकको पक्षमा नयाँ कानून पारित, मालिकले ‘वर्किङ आवर’ बाहेक अन्य समय बोलाउन नपाउने

पोर्चुगलमा श्रमिकको पक्षमा नयाँ कानून पारित, मालिकले ‘वर्किङ आवर’ बाहेक अन्य समय बोलाउन नपाउने

पोर्चुगल। रोजगारदाताले अबदेखि पोर्चुगलमा श्रमिकलाई काम अवधि (वर्किङ आवर) बाहेक अन्य समयमा काममा लगाउने उद्देश्यले कुनै सन्देश पठाउन नपाउने भएका छन्।

पोर्चुगलको संसदले यस सम्बन्धि नयाँ श्रम कानून पारित गरेको छ। जसअनुसार अबदेखि कुनै रोजगारदाताले आफ्ना श्रमिकलाई उनीहरूको काम गर्ने अवधिबाहेक अन्य समयमा काम गर्न अर्को सन्देश पठाउन पाउने छैनन्। नयाँ कानूनमा काम गर्ने अवधिबाहेक अन्य समयमा श्रमिकलाई सन्देश पठाउने वा सम्पर्क गरेको पाइएमा कार्यवाहीको सामना गर्नुपर्नेछ। श्रमिकको पेशागत जीवनको सन्तुलन मिलाउन र डिजिटल रुपमा काम गर्न आकर्षित गर्ने उद्देश्यले नयाँ कानून पारित गरिएको हो।

कोरोना महामारीपछि पोर्चुगलमा घरमै बसेर काम गर्नुपर्ने अवस्थाले व्यापकता पाएको थियो। हाल पोर्चुगलमा समाजवादी पार्टीको सरकार छ। उसले नयाँ कानूनलाई व्यापक छलफलपछि शुक्रबार अनुमोदन गरेको हो। अनुमोदित कानुनअनुसार कार्य अवधिपछि रोजगारदाताले श्रमिकलाई काम गराउने उद्देश्यले सम्पर्क गरेमा जरिवानासहित ग्याँस, बिजुलीको बिल जस्ता अतिरिक्त खर्चको पनि भुक्तानी गर्नुपर्नेछ।

हालै पारित कानूनअनुसार श्रमिकले घरबाट काम गर्ने अवस्थामा रोजगारदाताले अनुगमन गर्न पाउने छैनन्। श्रमिकले आफ्नो मालिकलाई प्रत्येक दुई महिनामा एकपटक भेट्नुपर्नेछ। पोर्चुगलको संसदबाट श्रमिकको पक्षमा अधिकांश बुँदाहरु जारी गरिए पनि श्रमिकले आफ्ना विद्युतीय यन्त्र (डिभाइस) बन्द गर्न भने पाउने छैनन्।

नयाँ कानूनको सन्दर्भमा पोर्चुगलका श्रम तथा सामाजिक सुरक्षामन्त्री अना मेन्डेस गोडिन्होले गत साता राजधानी लिज्वनमा आयोजित वेभ शिखर टेक सम्मेलनमा महामारीले यी कुरालाई नियमन गर्नुपर्ने आवश्यकतालाई बढाएको बताइन्। ‘टेली वर्क’ का बेफाइदालाई कम गर्दै फाइदालाई अधिकांश उपयोग गर्न सकेमा आमूल परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।

त्यसैगरी पोर्चुगललाई आफू बसेकै स्थानबाट डिजिटल रुपमा काम गर्ने संसारको उत्कृष्ट ठाउँ मध्येको एकको रुपमा स्थापित गर्दै त्यस्ता श्रमिकलाई विश्वभरबाट आकर्षित गर्न चाहेको समेत मन्त्रीले बताएकी छिन्।