आबुधाबीले जारी गर्यो गैर–मुस्लिमका लागि नयाँ कानून

आबुधाबीले जारी गर्यो गैर–मुस्लिमका लागि नयाँ कानून Skyscrapers of Abu-Dhabi.

आबुधाबी। आबुधाबी सरकारले गैर-मुस्लिमको लागि पारिवारिक मामिलासम्बन्धमा नयाँ कानून जारी गरेको छ।

यूएईका राष्ट्रपति एवं आबुधाबीका शासक शेख खालिफा बिन जायद अल नाह्यनले आइतबार गैर(मुस्लिमलाई लक्षित गर्दै बिवाह, सम्बन्धबिच्छेद र उत्तराधिकारी लगायतका पारिवारिक मामिलालाई नियमन र नियन्त्रण गर्ने नयाँ कानून जारी गरेका हुन्। सो कानूनको उद्देश्य गैर( मुस्लिमको व्यक्तिगत स्थिति र विवादको सम्बन्धमा लचिलो र परिस्कृत न्याय प्रदान गरेको बताइएको छ।

आबुधाबीमा यो कानून जारी भएसँगै अब व्यक्तिगत र पारिवारिक मामिलामा गैर-मुस्लिमले पनि कानूनी मान्यता पाउने छन्। आबुधाबीको यस कदमले विश्वभर छरिएर रहेका विभिन्न सीप र प्रतिभालाई आकर्षित गर्नुका साथै विश्वब्यापी प्रतिस्पर्धामा आबुधाबीको संलग्नतालाई थप बढाउने विश्वास गरिएको छ।

गैर-मुस्लिमको पारिवारिक मामिला नियन्त्रण एवं नियमन गर्ने नागरिक कानुन जारी गर्ने आबुधाबी पहिलो इमिरेट्स हो। यस्तो किसिमको कानुन विश्वमै पहिलो पटक जारी भएको दाबी समेत गरिएको छ।

आबुधाबीले जारी गरेको उक्त कानुन अन्तर्राष्ट्रिय मान्यताप्राप्त कानुनको अधीनमा रही आफ्नो संस्कृति, रीतिरिवाज र भाषा अपनाउने अधिकारको पनि ग्यारेन्टी गरिएको छ। सो कानूनमा बुबाआमा अलग-अलग रहेका बालबालिकाको हित र संरक्षणलाई पनि ध्यान दिइएको छ।

त्यस्तै गैर-मुस्लिमका पारिवारिक मामलाहरूको उचित न्याय प्रदान गर्न नयाँ अदालत स्थापना गर्ने बताइएको छ। त्यस्तो किसिमको अदालतमा अंग्रेजी र अरबी दुबै भाषाको प्रयोग गरिने छ। यसले आप्रवासीले न्यायिक प्रकृया बुझ्नुका साथै पारदर्शीतामा सुधार गर्न मद्दत पुग्ने बताइएको छ।

नयाँ कानुनमा बिबाह, सम्बन्धविच्छेद, बालबालिकाको हकहित र संरक्षण एवं उत्तराधिकार सम्बन्धि कुराहरु समेटिएका छन्। जसलाई विभाजित अध्यायसहित २० वटा धारामा उल्लेख गरिएको छ। गैर-मुस्लिमका लागि विवाहको उमेर, सम्बन्धविच्छेदका प्रक्रियाहरु, श्रीमान्(श्रीमतीको अधिकार, उनीहरूको आर्थिक अधिकार र सम्बन्ध विच्छेदपछि बालबालिकाको स्थिति र अधिकार एवं उनीहरूको मनोवैज्ञानिक स्वास्थ्यको संरक्षण जस्ता कुरालाई पनि सम्बोधन गरिएको छ।

त्यसैगरी, गैर–मुस्लिमका लागि इच्छापत्र दर्ता गर्ने, चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने, पितृत्वर मातृत्वको प्रमाणलाई नियमन गर्ने जस्ता कुराहरु पनि उल्लेख गरिएको छ। त्यस्तै, नवजात बच्चाको बुवाआमा सम्बन्धी प्रमाण विवाह वा पितृत्वरमातृत्व सम्बन्धी मान्यतामा आधारित हुने उल्लेख गरिएको छ।