अवैधरुपमा युरोप प्रवेश गर्न खोज्दा ७ आप्रवासीको निधन, एक नेपाली गम्भीर घाइते

अवैधरुपमा युरोप प्रवेश गर्न खोज्दा ७ आप्रवासीको निधन, एक नेपाली गम्भीर घाइते

काठमाडौं। गैरकानुनी रूपमा टर्कीबाट युरोपेली देश ग्रीस प्रवेश गर्न लागेका ७ आप्रवासीको दूर्घटनामा निधन भएको छ भने ८ गम्भीर घाइते भएका छन्। घाइतेमध्ये एक जना नेपाली रहेको ग्रीस सीमा पुलिसले स्पष्ट पारेको छ।

१५ आप्रवासी शुक्रबार टर्कीको सीमा हुँदै ग्रीसको उत्तरी नाकाबाट युरोप छिर्न खोजेका थिए। तर, मध्यरातमा उनीहरू चढेको गाडी दूर्घटनाग्रस्त हुँदा सात जनाको घटनास्थलमा निधन भएको थियो। ग्रीस प्रहरीले १५ जना बोकेको गाडी टर्कीसँग जोडिएको आफ्नो उत्तरपूर्वी सीमा नजिकै थेसालोनिकी शहरतर्फको राजमार्गमा मध्यरातमा दूर्घटनाग्रस्त भएको पुष्टी गरेको छ।

घटनास्थलमा मृत्यु हुनेमा ६ पुरुष र एक महिला छन्। मारिएका व्यक्तिको परिचय नखुलेको पनि प्रहरीले बताएको छ। तर, घाइतेमध्ये ४ पाकिस्तानी, २ अफगानी र एक नेपाली पुरुषको परिचय खुलेको छ। यिनीहरूको उपचार ग्रीसको नजिकैको शहर जान्थी र कोमोटिनीको अस्पतालमा भइरहेको छ।

ग्रीस प्रहरीका अनुसार दूर्घटनाग्रस्त गाडीको चालक एक माल्दोभन थिए। राजमार्गमा पुलिसको पेट्रोलिङबाट बच्न उनले तीब्र गतिमा गाडी हकाएका थिए। प्रहरीले गाडीको पिछा गर्दा दूर्घटना भएको थियो। मध्यपूर्वबाट युरोप प्रवेश गर्ने सजिलो नाकाको रूपमा ग्रीसलाई लिने गरिन्छ। एसिया र मध्यपूर्वी देशका आप्रवासीहरू युरोप छिर्न टर्की र ग्रीसबीचको सिमानामा रहेको इभ्रोस नदी पार गर्ने गरेका छन्।