बेलायतमा कोरोना संक्रमणबाट बच्न खाइने चक्की औषधि स्वीकृत

बेलायतमा कोरोना संक्रमणबाट बच्न खाइने चक्की औषधि स्वीकृत

लण्डन- कोरोना भाइरस संक्रमणबाट बच्न खाइने चक्की औषधिलाई स्वीकृत गर्ने बेलायत विश्वको पहिलो देश बनेको छ।

अमेरिकी औषधि कम्पनी मर्क र रिजब्याक बायोथेराप्युटिक्सले संयुक्त रुपमा विकसित गरेको उक्त चक्कीलाई बेलायतमा अनुमोदन गरिएको हो।

युके मेडिसिन्स र हेल्थकेयर उत्पादन नियामक प्राधिकरण (एमएचआरए)ले क्लिनिकल डेटाको आधारमा ‘मोल्नुपिराभिर’ नामको यो औषधिलाई अनुमोदन गरेको छ।

यो चक्की कोरोना संक्रमण देखिएमा र कोरोना संक्रमित भएको पाँच दिनभित्र सेवन गर्न सकिने बताइएको छ।

यो विश्वमा पहिलो पटक उपभोग गरिएको औषधि हो। यता, अमेरिकी अधिकारीहरूले यो औषधिलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय यसै महिना गर्ने बताइएको छ।

विश्वभर कोरोना संक्रमणबाट हालसम्म ५२ लाखभन्दा बढीको मृत्यु भइसकेको छ। अहिलेसम्म यो रोगको रोकथामका लागि भ्याक्सिन मात्रै प्रयोगमा आएको थियो।

यसबाहेक, एन्टी–भाइरल औषधि रेमडेसिभिर र जेनेरिक स्टेरोइड डेक्सामेथासोन अस्पतालहरूमा उपचारको क्रममा संक्रमित बिरामीहरूलाई दिइन्छ।

गत महिनाको क्लिनिकल डाटाले मर्कको औषधि मोल्नुपिराभिरले कोरोनाबाट हुने मृत्युको जोखिम आधा घटाएको देखाएको छ।

यो औषधि बेलायतमा ‘लागावेरियो’ नामले चिनिनेछ। बेलायतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने सरकारले संक्रमण रोक्न चुनौती सामना गरिरहेको छ।

बेलायती सरकारले यो औषधिलाई भाइरसविरुद्ध लड्ने प्रयासको एक हिस्साको रूपमा मात्र स्वीकृत गरेको बताएको छ। यसको प्रयोग कहिलेबाट सुरु हुन्छ र कसरी गर्ने भन्नेबारे सरकारले छिट्टै जानकारी दिइने छ।