‘नेपालले फिलिपिन्सले जस्तै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छ’

‘नेपालले फिलिपिन्सले जस्तै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छ’

सन् २००७, अप्रिलतिरको कुरा हो।म त्यतिबेला दोहास्थित नेपाली राजदूतावासमा कार्यरत थिएँ । बिहान सबेरै एकजना सेवाग्राही मेरो अफिस कोठामा हस्याङफस्याङ गर्दै भित्र छिरे । उनी थिए– स्याङ्जा राङखोलाका रन्जान मियाँ।

मियाँलाई एकजना कतारी स्पोन्सरले साउदी पु¥याई त्यहाँको भेडीगोठमा भेडाबाख्रा चराउन लगाइदिएछन् । सयौ भेडा र उँटको रेखदेख गर्ने काममा उनी एक्लै परेछन् र निकै आत्तिएछन् । पाँच महिना एकदमै कष्टले काटेछन् । छैटौ महिनामा कफिलले पैसा पठाउन कतार लिएर आएपछि तलब दिन खोज्दा तलब छाडेर उनी त्यहाँबाट भागेर राजदूतावास आईरहँदै उनले सबै समस्या मलाई बताए । मैले कफिललाई फोन गरेर नम्र भाषमा हार्दिकताका साथ समस्या समाधानका लागि आग्रह गरें । उनले भने, “तलब दिन लागेकै त हो नि । तर रन्जान आफैं भागे।”

कफिलले उनकै पैसामा टिकट काटेर रन्जानलाई नेपाल पठाइदिन राजी भए।

राजदूतावासमा आएर उनले टिकट उपलब्ध गराए र उनको बक्यौता तलब पनि दिए । भोलिपल्ट उनले ‘एक्जिट पर्मिट’ (खुरुज) पनि बनाइदिए । कर्मचारीको बोलीवचन र व्यवहारमा हार्दिकता मिसियो भने अप्ठ्यारोमा परेकाहरुको सजिलै उद्धार गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो यो ।

०००

भेडीगोठमा काम गर्न पक्कै पनि दुःख हुन्छ । झन् मध्यपूर्वमा त महिनौसम्म पनि काम गरेको ठाउँमा मालिक आउँदैनन् । प्रचण्ड गर्मीमा बस्ने घर पनि टहरोजस्तो हुन्छ । कम्तीमा कतारमा फिल्डमा काम गर्दा राति आएर बस्ने ठाउँमा एसी त हुन्छ । मरुभूमिमा त त्यो पनि हुँदैन । त्यस्तो ठाउँमा सात–आठ सय रियाल मासिक तलबमा काम गर्छन् नेपालीहरु । तर त्यही काम नेपालमा गर्न लगाउँदा ५० हजार रुपैयाँ दिए पनि गर्दैनन् । कतारमा सन् २००७ तिर म विभिन्न समयमा दोहास्थित दोहा अन्तर्राष्ट्रिय विमानस्थल जाने गर्दथेँ । त्यतिबेला अहिलेको हमद अन्तर्राष्ट्रिय विमानस्थलको नाम दोहा अन्तर्राष्ट्रिय विमानस्थल थियो । यो विमानस्थल मतारकदीम र टोयोटा सिग्नलको बीच भागमा अवस्थित छ ।

कम्पनीले समयमा लिन नआउँदा कैयौ श्रमिकहरु विमानस्थलमा लामो समयसम्म कुर्दै बसेको देखिन्थ्यो यस विमानस्थलमा । कोहीकोही त हप्तौसम्म विमानस्थलको आगमन कक्षमा बास बस्न बाध्य भएका हुन्थे । यसका थुप्रै कारणहरु होलान् । तर प्रमुख कारण भनेको भिसा पठाउने र मान्छे पठाउने बीचको लेनदेन नमिल्नु नै हुने गर्दथ्यो ।

कतारका नेपालीहरुको समस्या समाधान गर्ने प्रयासमा म दोहास्थित नेपाली राजदूतावासमा कार्यरत रहेदेखि नै क्रियाशील हुँदै आएको छु । खाडी देशहरुमा घरेलु श्रमिकको स्पोन्सरले एक देशबाट अर्को देशमा कामदार लैजान पाउँछ । कामदारको ‘रिइन्ट्री भिसा’ हुन्छ जुन उसले साथमा लिएर जान्छ । कतारी मालिकले आफ्नो कामदारलाई सबै प्रक्रिया पूरा गरेपछि आफ्नो छिमेकी मुलुकमा रहेको घर–जग्गामा लगेर काम गराउन पाउँछ । मानिसको ठेगाना परिवर्तन हुने बित्तिक्कै समस्याको आरम्भ हुन्छ । मैले देखेका धेरै समस्यामध्ये एउटा समस्या यो पनि हो । विशेषगरी मजरा तथा भेडीगोठहरुमा काम गर्ने श्रमिकहरुमा र घरेलु कामदारहरुले यो समस्या भोग्नुपरेको देखेको छु । तसर्थ, आफ्नो अवस्थाबारे श्रमिकले सर्वप्रथम आफ्नो परिवार र त्यसपछि सम्बन्धित आफ्नो नियोगलाई समयमै जानकारी गराए यस्तो झन्झट बेहोर्नु पर्दैन।

अर्को कुरा कतारमा नेपाली श्रमिकको मुख्य समस्या भनेकै काममा दक्षताको अभाव हो।

नेपाली श्रमिक दक्ष छन् भन्ने कुरामा कतारीहरुलाई पूर्ण विश्वास छैन । स्वदेशमै दिइने अभिमुखीकरण तालिमले खासै परिवर्तन ल्याउन सकेको छैन । नेपालका रोजगारदाता कम्पनीहरुबीचपनि आपसमै राम्रो सम्बन्ध छैन । धेरै पैसा खर्च गरेर र ठूलो सपना बुनेर कतार पुगेको श्रमिकको सपना त्यतिबेला चकनाचुर हुन्छ जतिबेला मेनपावर कम्पनी र पठाउने एजेण्टले गरेका वाचामा आकाश जमिनको फरक देखिन्छ।

अन्ततः अनगिन्ती समस्याले उसलाई फुत्किनै नसक्ने गरी घेर्छ । कतार भित्रिने अधिकांश नेपालीहरुमा विगत लामो समयदेखि धेरै कमी–कमजोरीहरु छन् भन्ने कुरा बेलाबखतमा उठिरहेका हुन्छन् । जीवनशैली, बानी र व्यवहारमा पनि समस्या छन् ।

कतार पुगेका नेपालीहरु न आधारभूत कानुन र रहनसहनबारे नै जानकारी राख्छन् न त आफ्नो काममा दक्षता । विगतमा अनाधिकृत रुपमा नेपालबाट श्रमिक पठाउने कार्यमा कतिसम्म लापरबाही गरिन्थ्यो भने स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण व्यक्तिलाई पनि योग्य देखाएर नक्कली कागजातका आधारमा पठाइन्थ्यो।

तिनै व्यक्तिलाई तीन महिनापछि नेपाल फर्काएर मेडिकल सेन्टरमाथि उजुरी हाल्न लगाइन्थ्यो । सामान्य कानुनी जानकारीको अभावमा नेपालबाट बैदेशिक रोजगारका निम्ति भाङदेखि गाँजासम्म, मादक पदार्थ बनाउने मर्चादेखि विभिन्न प्रतिबन्धित औषधि पनि साथमा लगिरहेका भेटिन्थे । कसैको भरिया बनेर प्रतिबन्धित बस्तु बोकेर जाँदा कतारको बन्दिगृहको पाहुना बनेका दर्जनाैँ घटना अझै पनि मेरो अगाडि छन् ।

अनि त्यस्ता व्यक्तिहरु विमानस्थलमै पक्राउ परेका दर्जनौ घटनाहरु आज पनि सुन्न र पढ्न पाइन्छ । अर्काको पासपोर्टमा आफ्नो फोटो टाँसेर नक्कली राहदानी बनाइएका सयौ कहानीहरु सुन्ने कानहरु आज पनि कतारमा भेटिन्छन् । समस्याको सुरुमा यस्तैयस्तै कुराहरुबाट भइदिन्छ।

मलाई सबैभन्दा के कुरामा दुःख लाग्यो भने ती निर्दोष नेपालीहरुलाई सरोकारवालाहरुले यी विषयहरुका बारेमा किन प्रारम्भिक जानकारी दिँदैनन् ‍? नेपालका कुरियर कम्पनीहरुले खाडीमा के पठाउन हुन्छ, के हुँदैन भन्ने कुराको जानकारी सेवाग्राहीलाई दिन आवश्यक छ । कतिले अश्लील क्रियाकलापका सिडी बोकेर गइरहेका हुन्छन् । नेपालको अध्यागमन र सुरक्षा निकायले के हेरिरहेको हुन्छ होला ? व्यक्तिगत मेलमिलापमा यस्ता काम नभएका होलान् त ? यस्तैयस्तै कार्यले गर्दा नेपाली श्रमिकहरु आफ्नो गन्तव्यमा पुग्नुअघि नै जटिल समस्यामा पर्ने गर्छन्।

यो समस्या सरकारको होइन ? म्यानपावर एजेन्सीको होइन ? बैदेशिक रोजगारसँग जोडिएका विभिन्न निकायहरुको होइन ? भनेको काम गर्न नसक्नु, भाषाको कमजोरी, सम्बन्धित ठाउँको आधारभूत कानुनबारे जानकारी नहुनु, जथाभावी मदिरा सेवन, बाटो काट्ने तरिकाको जानकारी नहुनुजस्ता अनेक समस्याले नेपाली श्रमिकलाई बारम्बार पिरोल्ने गरेको छ । बाटो काट्ने सामान्य तरिका थाहा नभएकै कारण र सवारी दुर्घटनामा परेर विदेशमा धेरै नेपालीहरुको मृत्यु भएको छ । कम्पनीले दिएको सुरक्षा सामग्री प्रयोग नगरेकै कारणले पनि कतिपय दुर्घटनामा नेपालीले अनाहकमा ज्यान गुमाउनुपरेको छ।

०००

समस्या मात्र होइन रमाइला सम्भावना पनि छन् कतारमा । लमजुङका ज्याउल मियाँ कपाल काट्ने काममा कतार गएका रहेछन् । कपाल काट्ने क्रममा कतारी सुल्तानको टाउकोको मसाज गरिदिएछन् । ती कतारीलाई उनको काम साह्रै मन परेछ । अहिले त्यही कारण उनी कहिले बेलायतमा हुन्छन्, कहिले इटालीमा, कहिले अमेरिकामा हुन्छन् । यो थियो सीपको कमाल र उपलब्धि।

कतारमा झन्डै दुई सय पचासको हाराहारीमा नेपाली इन्जिनियरहरु कार्यरत छन् । केही अपवाद छाड्ने हो भने उनीहरु किन सफल हुन सकेका छैनन् रु किनभने डिग्री भए पनि कतिपयमा कामको अनुभव हुँदैन । कामको अनुभव भए पनि प्राविधिक दक्षताको अभाव हुन्छ । प्राविधिक शिक्षाको समस्या विद्यमान छ । हामीकहाँ परिमाण त छ तर चाहे जस्तो गुणस्तर छैन । त्यसैले नेपालले फिलिपिन्सले जस्तै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छ । अहिलेको समयको माग हो यो । यस विषयमा सम्बन्धित सबै निकायको ध्यान जान आवश्यक छ । पर्याप्त सीपको कमी, स्थानीय कानुन र स्थलगत विषयको जानकारीको कमी नै कतारवासी नेपालीको प्रगतिको मार्गमा बाधक बनेर उभिएका छन्।

(कतारमा लामो समय बसेका प्रो। रमजान मियाँको हालै प्रकासित किताब ‘मैले देखेको कतार’ बाट)