अमेरिकाले डिभी भर्न पासपोर्ट अनिवार्य गरेपछि राहदानी विभागमा युवाहरुको चाप

अमेरिकाले डिभी भर्न पासपोर्ट अनिवार्य गरेपछि राहदानी विभागमा युवाहरुको चाप फाईल फोटो

काठमाडौं- बिहानैदेखि राहदानी विभागमा पासपोर्ट बनाउने युवाहरू लाइनमा भेटिन्छन्। केही वर्षअघि पासपोर्ट बनाउन यस्तै भिडभाडको सामना गर्नुपर्थ्यो। तर, पछिल्ला केही वर्षदेखि विभागमा यस्तै चाप छैन।

आइतबार सेवाग्राहीको भिडभाड हुँदा लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई पनि हेम्मेहम्मे परेको थियो। राहदानी विभागदेखि लैनचौरसम्म सर्वसाधारण लाइनमा थिए। आइतबार सेवाग्राहीको भीड भएपछि विभागले टोकन सिस्टम लागू गरेको छ।

राहदानी विभागका प्रवक्ता सरदराज आरनका अनुसार आइतबार २ हजार सेवाग्राहीको काम भएको थियो। बाँकीलाई सोमबार र मंगलबारको टोकन दिएर पठाइएको छ।

तर, किन बढिरहेको छ भीड? ‘यो डिभीको कारणले भएको भिडभाड हो। ८० प्रतिशत मानिस भीड भर्नको लागि पासपोर्ट बनाउन आएका हुन्। आइतबार मात्र विभागमा करिब ५ हजार सेवाग्राही पुगेका थिए। पुगेका सबैको काम भएन,’राहदानी विभागका प्रवक्ता आरनले भने।

सामान्य समयमा विभागमा प्रत्येक दिन औसत १ हजार सेवाग्राही पासपोर्ट बनाउन पुग्थे। तर, दुई सातादेखि भने सेवाग्राही चाप देखिएको उनले बताए।

अमेरिकाले डिभी भर्न पासपोर्ट अनिवार्य गरेको छ। सन् २०२३ को लागि असोज २० गतेदेखि कार्तिक २३ गतेसम्म डिभी भर्ने समय तोकिएको छ। त्यसैले चाप बढेको उनले बताए।