श्रममन्त्री श्रेष्ठ र यूएईमा रहेका नेपाली संघ–संस्थाका प्रतिनिधिबीच दूतावासमा अन्तरक्रिया

श्रममन्त्री श्रेष्ठ र यूएईमा रहेका नेपाली संघ–संस्थाका प्रतिनिधिबीच दूतावासमा अन्तरक्रिया

दुबई । श्रममन्त्री स्तरीय सम्मेलन ‘आबुधाबी डाइलग’ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले यहाँ रहेका नेपाली संघ–संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन्।

मन्त्री श्रेष्ठ नेतृत्वको श्रम मन्त्रायलएको एक टोलीले मंगलबार बेलुका आबुधाबीस्थित नेपाली दूतावासमा नेपाली संघसंस्थाका प्रतिनिधिलाई भेटेर यूएईमा नेपाली कामदारले भोग्नु परेका समस्याबारे छलफल गरेकाे हाे ।

छलफलमा मन्त्री श्रेष्ठसँग नेपाली संघ–संस्थाका प्रतिनिधिले यूएईमा भिजिट भिसामा ल्याएर कामदारलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यस्ता व्यक्ति तथा गिरोहलाई कारबाही गर्न सरकारले कडा कदम चाल्नु पर्ने माग गरेका छन्। काम लगाउने भन्दै अवैध ढंगले मानव तस्करी बढेको उनीहरुको गूनासो थियो।

यसैगरी केही प्रतिनिधिले यूएईबाट कामदारलाई भरिया बनाएर नेपालमा सुन तस्करी बढेकोले सरकार त्यसतर्फ चनाखो हुन सुझाव समेत दिए । यस्तै  घरेलु श्रमिकका समस्या, जेल जीवन बिताइरहेका नेपालीको अवस्थालगायतका विषयमा छलफल भएको थियो।

प्रतिनिधिसँग मन्त्री श्रेष्ठले समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए।

‘अबुधाबी डाइलग’ मा भाग लिन मन्त्रीसहित श्रम मन्त्रालयका सचिव सुर्य प्रसाद गौतम र वैदेशिक रोजगार व्यवस्थापन शाखाका उप–सचिव डा. थानेश्वर भुसाल यूएई आएका थिए।