मलेसियामा नेपाली श्रमिकको मृत्युदर बढेपछि मानव अधिकार आयोगको चासो

मलेसियामा नेपाली श्रमिकको मृत्युदर बढेपछि मानव अधिकार आयोगको चासो फाइल फोटो

क्वालालम्पुर । मलेसियाको मानव अधिकार आयोग (सुहाकम) ले विगत ३ वर्षको अवधिमा यहाँ ज्यान गुमाएका नेपाली श्रमिकको मृत्युबारे अनुसन्धान गर्ने भएको छ । आयोगले क्वाललम्पुरस्थित नेपाली दूतावासले उपलब्ध गराएको रिपोर्टको अध्ययन गर्ने बताएको छ । सो रिपोर्टमा दाबी गरिएअनुसार यहाँ मृत्यु हुने नेपाली श्रमिकको संख्या बढ्दो छ।

सुहाकम कमिश्नर जेराल्ड जोसेफका अनुसार आयोगले नेपाली दूतावासबाट जानकारी पाएअनुसार २०१८ जुलाइदेखि २०२१ सम्म आइपुग्दा मलेसियामा १ हजार १ सय ५८ नेपाली श्रमिकले ज्यान गुमाएका छन्।

मृत्युको प्रमुख कारणहरुमा आत्महत्या, कार्यस्थल दुर्घटना, निमोनिया, कोविड–१९ र अन्य रोग बताइएको छ।

सुहाकम कमिश्नर जेराल्ड जोसेफ

‘श्रम विभाग वा सुरक्षा र स्वास्थ्य विभाग पनि यस मामलामा जानकार हुन सक्छ। मृत्युको कारण के हो र कुन पक्ष जिम्मेवार छ भन्ने विषयमा जान्न चाहन्छौँ,’ कमिश्नर जेराल्ड जोसेपले सुहाकाममा पत्रकार सम्मेलनमा भनेका छन् ।

आयोगको तर्फबाट यस विषयमा नेपाली दूतावासका कर्मचारी र सम्बन्धित निकायसँग थप जानकारी लिनको लागि अनुगमन गरिने जेराल्डले बताए।