कतारी नागरिक सरह प्रवासी कामदारले पनि कतारमा स्वास्थ्य विमा गर्नुपर्ने

कतारी नागरिक सरह प्रवासी कामदारले पनि कतारमा स्वास्थ्य विमा गर्नुपर्ने

दोहा। कतारले आफ्नो नागरिक सरह प्रवासी कामदारले पनि उत्तिकै सुविधा प्राप्त गरुन् भन्ने उद्देश्यले नयाँ स्वास्थ्य विमा नीति लागु गर्ने भएको छ।

यसका लागि कतारमा रहेका हरेक प्रवासीलाई सन् २०२१ को स्वास्थ्य ऐनको २२ नम्बर दफाअनुसार ६ महिनाभित्र स्वास्थ्य विमा गर्न सुझाव दिइएको छ।

यो नियम अनुसार कतारमा कार्यरत प्रवासीले आफू र परिवारका अन्य सदस्यको अनिवार्य स्वास्थ्य विमा गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका सल्लाहकार खालीद अल मोघाइसीबले बताएका छन्।

‘६ महिनाभित्र, जतिबेला बसोबास गर्ने अनुमति (आवासीय अनुमति) नवीकरण गर्नुपर्ने हुन्छ, त्यतिबेला विमा अनिवार्य छ,’ मोघाइसीबले बुधबार कतारी टिभीलाई जानकारी दिँदै भने।

उनले स्वास्थ्य क्षेत्रमा लगानी भित्र्याउन स्वास्थ्य विमा प्रभावशाली कदम हुने र यसले सार्वजनिक तथा निजी क्षेत्रलाई मिलाएर काम गर्न सहज हुने बताए। यो परियोजनाले नागरिकहरूले द्रुतगतिमा प्रभावशाली स्वास्थ्य सुविधा पाउने पनि उनको भनाई थियो।

उनले निजी तथा सार्वजनिक साझेदारीले सबै समूह लाभान्वीत हुने पनि बताए।
‘स्वास्थ्य विमाका लागि लक्षित वर्ग सबै प्रवासी हुन, यसमा घरेलु कामदार, व्यवसायिक कामदार र कर्मचारीलगायत सबै छन्’, उनले भने।

हमद जर्नल अस्पतालका स्वास्थ्य निर्देशक डा. युसुफ अल मस्लामानी भन्छन्, स्वास्थ्य विमा कतारी नागरिकले मात्र राम्रो स्वास्थ्य सेवा पाउनु भनेर लागु गर्न लागिएको होइन। नयाँ कानुनको उद्देश्य कतारी नागरिक सरह अरुले पनि आवश्यक परेको खण्डमा उचित स्वास्थ्य सुविधा पाउनु् भन्ने हो।