नक्कली कागजतसहित मेक्सिको प्रवेश गर्न खोज्ने १८ नेपाली जर्मनी अध्यागमनको नियन्त्रणमा

नक्कली कागजतसहित मेक्सिको प्रवेश गर्न खोज्ने १८ नेपाली जर्मनी अध्यागमनको नियन्त्रणमा

काठमाडौं । रसियाबाट नक्कली कागजातसहित मेक्सिको प्रवेश गर्न लागेका १८ जना नेपाली जर्मनीको फ्र्यांकफोर्ट विमानस्थल पक्राउ परेका छन् । विमानस्थल ट्रान्जिटमा चेकजाच गर्ने क्रममा कागजपत्र नक्कली भेटिएपछि अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको हो ।

सुरक्षा जाँचका क्रममा भिसा र कागजात नक्कली भेटिएपछि उनीहरुलाई अध्यागमनले नियन्त्रणमा राखेको बर्लीनस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

फ्र्यांकफोर्ट विमानस्थलमा कार्यरत नेपाली श्याम खनालले घटनाबारे दूतावासलाई जानकारी दिएका थिए । ‘३५ जना नेपालीलाई विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको जानकारी आएको थियो’ जर्मनीका लागि नेपाली राजदूत रामकाजी थापाले प्रवास खबरसँग टेलिफोनमा भने, ‘आधिकारीक रुपमा बुझ्दा १८ जनामात्र नियन्त्रणमा रहेको जर्मनीको सुरक्षा एजेन्सीले इमेलमार्फत जानकारी दिएको छ ।’

नियन्त्रणमा रहेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भेटिएको सुरक्षा एजेन्सीले जानकारी गराएको छ। नियन्त्रणमा लिइएका नेपालीहरुको विस्तृत विवरण भने अहिलेसम्म आफूहरुलाई उपलब्ध नभएको राजदूत थापाले बताए।

नियन्त्रणमा रहेका सबै विमानस्थलमै रहेको र उनीहरुलाई जुन ठाउँबाट आएका थिए, उही रुट भएर फर्काउने तयारी भइरहेको थापाले जानकारी दिए । ‘उनीहरुलाई फर्काउन हाम्रो भूमिका हुदैन, जर्मनीको सम्बन्धीत निकायले नै गर्ने हो’ उनले भने, ‘नक्कली कागजात भएकालाई कसरी मस्कोबाट उड्ने अनुमति पाए भन्ने मुख्य सवाल प्रमुख हो ।’