इजरायल रोजगारी : भाषा परीक्षाको नतिजा सार्वजनिक

इजरायल रोजगारी : भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं। रोजगारीका लागि इजरायल जाने नेपालीहरूमा २ हजार ३९ जनाको छनोट भएको छ।

गत सोमबार इजरायल जाने श्रमिकका लागि भएको अंग्रेजी भाषा परीक्षाको नतिजा मंगलबार सार्वजनिक हुँदा १३ सय ९५ महिला तथा ६ सय ४४ पुरुष पास भएका हुन्।

परीक्षाका लागि ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए। जसमा ७ हजार ९ जनाले प्रवेश पत्र बुझेपनि ६ हजार ३ सय १७ जना सहभागी भएका थिए।

वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्र स्थापना गरेर परीक्षा लिएको थियो। विभागका अनुसार अव भाषा परीक्षा पास भएकाले अन्तरवार्ता दिनुपर्ने छ। अन्तर्वार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट हुने विभागका निर्देशक एवं प्रवक्ता कमल ज्ञवालीले बताए।

‘छनोट भएका १ हजार ४ सय कामदारको सूची हामी नेपालस्थित इजरायल दूतावासमा पठाउने छौं,’ उनले भने।

विभागका अनुसार इजरायलमा रोजगारीका लागि छनोट भएर गएका श्रमिकको मासिक तलव नेपाली विनिमय अनुसार करिब दुइ लाख रुपैयाँ हुनेछ। सो तलब सातामा ४२ घण्टाको हिसाव हुन्छ।