कुलकाे प्रस्ताव रवीनाद्धारा अस्वीकार, ‘डेमोक्र्याट’ खेमाबाट आफूले उम्मेदवारी दिने अडान

कुलकाे प्रस्ताव रवीनाद्धारा अस्वीकार, ‘डेमोक्र्याट’ खेमाबाट आफूले उम्मेदवारी दिने अडान

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी चुनावमा ‘डेमोक्र्याट’ को तर्फबाट साझा उम्मेदवारी दिने कुल आचार्यको अभियानमा धक्का लागेको छ।

एनआरएनएको अघिल्लो चुनावमा आचार्य ‘डेमोक्र्याट’ को साझा उम्मेदवार थिए। उनी त्यो चुनावमा कुमार पन्तसँग झिनो मतान्तरले पराजित भएका थिए। यसपालि पनि आफ्नो उम्मेदवारीलाई सशक्त बनाउन उनी कांग्रेसी नेतासँग छलफलमा व्यस्त छन्। तर, ‘डेमोक्र्याट’ बाट साझा उम्मेदवारी दिने उनको अभियानमा रवीना थापा तगारो बनेकी छिन्।

चुनावी अभियानलाई सार्थक तुल्याउन यसै महिना आचार्य बेलायतबाट नेपाल आएका थिए। उनले रवीनाको अध्यक्ष पदको उम्मेदवारीलाई रोक्न कांग्रेसका केही शीर्ष नेतासँग भेट पनि गरेका थिए। तर, रवीना आफ्नो अडानमा बस्दा आचार्यलाई गाह्रो परेको छ।

‘केही दिनअघि कांग्रेसका शीर्ष नेतासँग बसेर कुल आचार्यले आफ्नो उम्मेदवारीको विषयमा कुरा गर्नुभएको थियो। उहाँले रवीनाजीलाई अध्यक्ष पदमा उम्मेदवारी नदिन दबाब दिने उद्देश्यले नेताहरूसँग कुराकानी पनि गर्नुभएको थियो। तर, रवीनाजीले आचार्यको प्रस्ताव मान्नु भएन,’ कांग्रेसका एक नेताले प्रवास खबरलाई बताए।

एनआरएनएको अक्टुवरमा हुने निर्वाचनमा कुल आचार्यभन्दा पहिले नै रवीनाले उम्मेदवारीको घोषणा गरिसकेकी थिइन। उनले सार्वजनिक रुपमा पहिलेदेखि नै आफू अध्यक्ष पदबाट नहट्ने बताइसकेकी छिन्।

पारिवारिक रूपमा नेपाली कांग्रेससँग पहिलेदेखि नै आवद्ध रवीना पहिले कुल आचार्यकै समूहमा आवद्ध थिइन। तर, उनले आचार्यको नेतृत्वमा आफ्नो समूहले चुनाव नजित्ने निस्कर्ष निकाल्दै उम्मेदवारी दिएकी हुन्।

अहिले आचार्यको समूहका पुराना धेरै साथीहरूले उनको प्यानल छोडिसकेका छन्। रवीनाले आफूलाई अध्यक्ष पदको उम्मेदवारी छोडेर आफूलाई सघाउन आचार्यले आग्रह गरेको प्रवास खबरसँग पुष्टी गरिन्।

‘उहाँसँग भेटघाट भएको थियो। उहाँले तपाईले अध्यक्ष छोडेर मलाई सघाउनु पर्‍यो भन्नु भएको थियो,’ उनले भनिन्, ‘तर, मैले आफू धेरै अगाडि बढिसकेको भन्दै बरु मलाई सहयोग गर्न आग्रह गरेँ।’

उनले अध्यक्ष पदमा जति जना उठेपनि आफूले उम्मेदवारी परित्याग नगर्ने बताइन्। एनआरएनएको आगामी महाधिवेशनमा डा.बद्री केसी, कुल आचार्य र रवीना थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने सम्भावना प्रबल छ।

यो पनि पढ्नुहोस्

बेलायती जनसम्पर्क समितिले आचार्यलाई पत्याएन, रविनालाई साथ