कुवेतका ९ अपार्टमेन्टलाई मदिरा कारखाना बनाएका ४ नेपाली पक्राउ

कुवेतका ९ अपार्टमेन्टलाई मदिरा कारखाना बनाएका ४ नेपाली पक्राउ

कुवेत। कुवेती शहर हवालीस्थित ९ वटा अपार्टमेन्टलाई मदिरा कारखानामा रुपान्तरण गरेका ४ नेपाली नागरिकलाई कुवेती प्रहरीले पक्राउ गरेको छ। एसियालीमुलका व्यक्तिले कुवेतको राजधानी कुवेत सिटीको प्रमुख व्यवसायीक ठाउँ हवालीमा ९ वटा अपार्टमेन्टलाई मदिराको कारखाना बनाएको सूचना पाएपछि गृहमन्त्रालयले प्रहरीको विशेष टोली परिचालन गरेको थियो।

कुवेती सुरक्षाकर्मी र महानगरपालिकाको संयुक्त टोलीले पुरै एरियालाई नियन्त्रणमा लिएर गरेको खानतलासीका क्रममा एसियालीमुलका भनिएका व्यक्ति नेपाली भएको प्रमाणित भएको थियो।
खानतलासीमा सयौं ब्यारल रक्सी तथा मदिरा बनाउने सामान प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका नेपालीलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

कुवेतमा पछिल्लो समय अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा नेपालीहरूको संलग्नता देखिन थालेको छ। यसअघि पनि अवैध मदिरा उत्पादन तथा बिक्री वितरणको मुद्धामा प्रहरीले केही नेपाली पक्राउ गरिसकेको छ।