राष्ट्र संघको रिपोर्ट : वर्षको अन्त्यसम्म ५ लाख अफगानीले देश छोड्ने आशंका

राष्ट्र संघको रिपोर्ट : वर्षको अन्त्यसम्म ५ लाख अफगानीले देश छोड्ने आशंका

कावुल। अफगानिस्तानमा ५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि हालसम्म हजारौं अफगानीले देश छोडिसकेका छन्। अफगानिस्तानमा अहिले पनि देश छोड्नेको लर्को छ। काबुल विमानस्थल त दिनहुँ मेला लागे जस्तो देखिन्छ।

संयुक्त राष्ट्र संघको अध्ययन प्रतिवेदनअनुसार यो वर्षको अन्त्यसम्म अफगानिस्तानबाट ५ लाख अफगानी विस्थापित हुने अनुमान गरिएको छ। राष्ट्र संघले अफगानी शरणार्थीका लागि छिमेकी देशलाई आफ्नो सीमानाका खुला गर्न अपीलसमेत गरेको छ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गर्नुअघिदेखि नै २६ लाखको हाराहारीमा अफगानी शरणार्थी छिमेकका विभिन्न देशमा बसोबास गर्दै आइरहेका छन्। अफगानिस्तानमा अहिले लगभग ३५ लाख व्यक्तिले आफ्नो घर छोडिसकेको बताइएको छ।

राष्ट्र संघको शरणार्थीसम्बन्धि काम गर्ने संस्था यूएनसीएचआरका अनुसार विश्वमा अहिले ८ करोड २४ लाख व्यक्ति शरणार्थीको जीवन बाँच्न विवश छन्। यसमा २ करोड ६४ लाख शरणार्थी विश्वको विभिन्न मूलुकमा गएर बसेका छन्।

१८ जुन २०२१ को तथ्यांक अनुसार सबैभन्दा बढी शरणार्थी ६७ लाख सिरियाका छन्। यसपछि भेनेजुएलाका ४० लाख नागरिक शरणार्थीको जीवन बाँच्न विवश छन्। तेस्रो नम्बरमा अफगानिस्तानको नाम आउँछ। चौथोमा दक्षिण सुडान र पाँचौं नम्बरमा बर्मा रहेको छ। दक्षिणी सुडानका २२ लाख नागरिक शरणार्थी छन्। बर्माको पनि ११ लाख मानिस शरणार्थीको जीवन बाँचिरहेका छन्।