साउदीमा आवासीय, श्रम कानून र सीमा सुरक्षा नियम उल्लंघन गर्ने करिब १६ हजार विदेशी पक्राउ

साउदीमा आवासीय, श्रम कानून र सीमा सुरक्षा नियम उल्लंघन गर्ने करिब १६ हजार विदेशी पक्राउ

रियाद।साउदी अरबले आवासीय र श्रम कानुन तथा सीमा सुरक्षा सम्बन्धी नियम उल्लंघन गर्ने झण्डै १६ हजार व्यक्तिलाई गिरफ्तार गरेको छ।

राज्यको विभिन्न क्षेत्रमा एक हप्ता लामो निरीक्षणको दौरान १५ हजार ९ सय उल्लंघनकारी गिरफ्तार भएका हुन्। १२–१८ अगस्टसम्म सुरक्षाबलका विभिन्न इकाइ र पासपोर्ट महानिर्देशनालयद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको निरीक्षण अभियानमा उनीहरुलाई गिरफ्तार गरिएको हो।

गिरफ्तार परेकामध्ये आवासीय कानुनको उल्लंघन गर्ने ५ हजार ४ सय ३६, सीमासुरक्षा नियमको उल्लंघन गर्ने करिब ९ हजार ७५ र श्रम कानूनको उल्लंघन गर्ने १ हजार ३ सय ८९ भन्दा बढी रहेको बताइएको छ।

अन्य देशबाट आफ्नो राज्यमा प्रवेश गर्ने प्रयास गरिरहेका कूल ४ सय ५४ जना पक्राउ परेको बताइएको छ । जसमध्ये ४५ प्रतिशत यमनी , ५१ प्रतिशत इथियोपियाली र ४ प्रतिशत अन्य राष्ट्रका नागरिक भएको स्थानीय पत्रिकाले बताएको छ। त्यस्तै, २३ व्यक्तिलाई राज्यको सीमा पार गरेर भाग्दै गर्दा पक्राउ गरिएको बताइएको छ। उल्लंघनकर्तालाई भाग्न र प्रहरीबाट बच्न सहयोग पुर्याउने ८ व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ।

हालै सार्वजनिक एक तथ्याङ्कअनुसार कारबाहीको प्रक्रियामा रहेका उल्लंघनकर्ताको संख्या ७८ हजार २ सय ८६ भन्दा बढी रहेको र यसमध्ये ६५ हजार १ सय ६४ पुरुष र १३ हजार १ सय २२ महिला रहेको बताइएको छ। त्यस्तै, ५८ हजार ३ सय १७ उल्लंघनकर्ताको मुद्दा निर्वासन ( डिपोर्ट) को लागि अगाडि बढाइएको छ। ती व्यक्तिको यात्रा कागजात (ट्राभल डकुमेन्ट) प्राप्त गर्नको लागि सम्बन्धित कूटनीतिक नियोगसमक्ष पठाइएको बताइएको छ।

यहाँको आन्तरिक मन्त्रालयले कसैले पनि सीमा सुरक्षाको नियम उल्लंघन गरी राज्यभित्र प्रवेश गराउने काममा संलग्न भएको पाइएमा वा त्यस्ता व्यक्तिलाई यातायात, आवास वा अन्य कुनै सहयोग गरेको पाइएमा अधिकतम १५ बर्षको जेल सजाय र साउदी रियल १० लाखसम्म जरिवाना तिराईने बताएको छ। उल्लंघनकर्तालाई भगाउन प्रयोग गरिने सवारी साधन,  बस्न दिइएको आवाससमेत जफत गरिने र त्यस्ता व्यक्तिको नाम स्थानीय संचारमाध्यममा प्रकाशन गरिने समेत बताइएको छ।



No ads found for this position