सरकारको चरम लापरवाहीले दुबई उड्न ठिक्क परेका श्रमिक अलपत्र, विमानस्थलमा हंगामा

सरकारको चरम लापरवाहीले दुबई उड्न ठिक्क परेका श्रमिक अलपत्र, विमानस्थलमा हंगामा

काठमाडौं। सरकारको चरम लापरवाहीका कारण वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई उड्न तयारी अवस्थामा रहेका २ सयको हाराहारीमा नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्।
मंगलबार बेलुका ७ बजे दुबईतर्फ उड्न ठिक्क परेका नेपालीहरू विमानस्थलमा गरिने पीसीआर टेस्ट नहुँदा अलपत्र परेपछि हंगामा भएको थियो।

यूएईले लामो समयपछि ५ अगस्टदेखि निश्चित मापदण्ड पूरा गरेर आफ्नो देश फर्किन चाहने नेपालीलाई प्रवेश अनुमति दिएको थियो। यूएईले यात्रा प्रतिबन्ध खुकुलो पारेपछि घर बिदामा आएका थुप्रै नेपाली श्रमिक दुबई फर्किन चाहेका थिए।

तर, यसका लागि यूएईले एउटा मापदण्ड बनाएको थियो। जसअन्तर्गत यूएई प्रवेश गर्नुभन्दा कम्तिमा ४ घण्टाअघि गरिएको आरडीटी पीसीआर पीसीआर रिपोर्ट अनिवार्य माग गरिएको छ। अबुधाबीस्थित नेपाली दूतावासले नेपाल सरकारलाई यसअघि नै जानकारी गराइसकेको थियो। तर, सरकार उदासिन बन्दा नेपाली श्रमिक बिचल्लीमा परेका हुन्।

छुट्टिमा नेपाल आएका र कोरोना संक्रमणका कारण देशभित्र लामो समय रोकिएका थुप्रै नेपालीको भिसाको म्याद सकिने अवस्थामा छ।

नेपाल सरकारले हालसम्म विमानस्थलमा आरडीटी पीसीआर परीक्षणका लागि मेशिनको व्यवस्था गर्न सकेको छैन।

यूएई सरकारले आफ्नो देश प्रवेशका लागि यात्रा प्रतिबन्ध खुकुलो बनाएको एक साता बित्न लाग्दा पनि सरकारको रवैया श्रमिक प्रतिकूल देखिएको छ। दुबई उड्न ठिक्क परेर विमानस्थल पुगेका श्रमिकले उड्न नपाएपछि सोमबार र मंगलबार त्रिभुवन विमानस्थलमा प्रदर्शन गरेका हुन्।

विमानस्थल प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले दुबई उड्न बञ्चित भएका नेपालीले आक्रासो पोखेको जानकारी दिए। मंगलबार बेलुका ७ बजेको उडानका लागि २ सयको हाराहारीमा यात्रुहरू विमानस्थल पुगेका थिए। प्रहरी प्रमुख बास्तोलाले प्रवास खबरसँग कुराकानी गर्दै भने, ‘उहाँहरूले उड्न नपाएको बेला आक्रोस पोख्नु भएको हो। तर, उहाँहरु कन्भिन्स भएर फर्किनु भयो। तनावपूर्णस्थित बन्न पाएन।’

यस्तै, विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पनि तनाव नभएको बताए। उनले कोरोनाको आरडीटी पीसीआर मेसिन विमानस्थलमा राख्न स्वास्थ्य मन्त्रालयसँग पहल भइरहेको बताए। उनले भने,‘स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया अघि बढेको छ।’