यूएई आउने नेपालीले आफ्नो ‘भिसा स्टाट्स’ कसरी हेर्ने ?

यूएई आउने नेपालीले आफ्नो ‘भिसा स्टाट्स’ कसरी हेर्ने ?

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा यहाँको सरकारले स्वीकृति प्रदान गरेको खोपको दुवै मात्रा लगाएका आप्रवासी श्रमिकका लागि यात्रा खुला गरिएको छ। ५ अगष्टदेखि नेपालसहित अन्य राष्ट्रका आप्रवासी श्रमिकका लागि यो नियम लागू भएको हो ।

राष्ट्रिय विपत तथा आपत्कालीन प्राधिकरण एवं नागरिक उड्डयन प्राधिकरणद्वारा घोषित नीतिअनुसार युएईको आवासीय अनुमतिपत्र प्राप्त गरेका र कोभिडविरुद्ध खोपको दुवै मात्रा लिएका व्यक्तिलाई मात्र यस्तो अनुमति दिएको हो।

यस्तै, नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगाण्डाका (खोप प्राप्त गरेका या नगरेका समेत) यूएईमा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक, मानवअधिकार क्षेत्रमा काम गर्ने व्यक्ति एवं सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीले पनि प्रवेश पाउने बताइएको छ।

यूएई प्रवेश गर्ने यात्रीको लागि परिचयपत्र र नागरिकताको संघीय प्राधिकरण एवं आवासीय र वैदेशिक मामिला निर्देशनालयको स्वीकृति भने अनिवार्य हुनुपर्ने बताइएको छ। यद्यपि बाध्यतावश ती देशमा बस्नु परेको कारण धेरैजसो श्रमिकको भिसा या त म्याद सकिएको छ, या त यूएई बाहिर छ महिनाभन्दा बढी समयसम्म बस्नुपरेको अवस्था छ। यस सन्दर्भमा यात्रा गर्नु पूर्व आफ्नो भिसाको अवस्था कसरी थाहा पाउने यहाँ केहि निर्देशिका दिइएको छः

मेरो भिसा यूएई प्रवेशको लागि वैध छ कि छैन कसरी हेर्न सक्छु?

दुबईका बासिन्दाले आफ्नो भिसाको अवस्था आफ्नो पासपोर्ट र इमिरेट्स परिचयपत्र नम्बरको प्रयोग गरी याे  https://smartservices.ica.gov.ae/echannels/web/client/guest/index.html#/residents-entry-confirmation लिङ्कबाट हेर्न सकिन्छ।

दुबई बाहेक अन्य इमिरेट्समा जाने व्यक्तिले आफ्नो भिसाको अवस्था याे https://smartservices.ica.gov.ae/echannels/web/client/default.html#/fileValidity  लिंकबाट थाहा पाउन सकिन्छ।

आफ्नो पासपोर्ट र इमिरेट्स परिचयपत्र नम्बरको प्रयोग गरी आफ्नो भिसाको अवस्था जानकारी लिन सकिन्छ।

यूएई बाहिर छ महिना बढी समय बसेको अवस्थामा के गर्ने?

यदि यूएईको आवासीय भिसा प्राप्त प्रवासी व्यक्ति निरन्तर ६ महिना बढी समय बाहिर बसेको अवस्थामा स्वतः भिसा रद्द हुने सामान्य नियम छ। यदि यस्तो भएमा ती व्यक्तिले यूएई प्रवेशको लागि पुनः आवेदन दिनुपर्ने हुन्छ।

आवसीय तथा वैदेशिक मामिला निर्देशनालयले आफ्नो वेभसाइटमा बताएअनुसार सावधानीका मापदण्डसँग सम्बन्धित कारणले आवेदन अस्वीकार हुनसक्छ। तर, यसको अर्थ आवेदक यूएई प्रवेश गर्न पाउने छैन भन्ने चाहिँ होइन।

दुबईको लागि पुनः प्रवेश आवेदन दिनको लागि याे ttps://smart.gdrfad.gov.ae/Smart_OTCServicesPortal/ReturnPermitServiceForm.aspx लिंकको प्रयोग गर्न सकिन्छः

दुबई बाहेक अन्य सबै इमिरेट्समा पुनः प्रवेशको लागि याे https://smartservices.ica.gov.ae/echannels/web/client/guest/index.html#/residents-entry-confirmation लिंकको प्रयोग गर्न सकिन्छः

पुनः प्रवेशको लागि आवेदन दिएपछि के गर्नुपर्छ?

यूएई भन्दा बाहिर छ महिना बढी समय बसेका श्रमिकले यूएईस्थित आफ्नो रोजगारदाता वा प्रायोजक (स्पोन्सर) ले जारी गरेको प्रमाण (स्पोर्टिङ्ग) हरू पेश गर्नुपर्ने हुन्छ। त्यस्तो पत्रमा सो व्यक्ति यूएईको श्रमिक भएको व्यहोरा स्पष्टसँग खुलाउनु पर्ने हुन्छ। सो पत्र श्रमिकले विमानस्थलस्थित इमिग्रेसन अफिसरसमक्ष पेश गर्नुपर्ने हुन्छ।

के बिदेशमै रहेको अवस्थामा पुनः प्रवेशको लागि आवेदन दिन सकिन्छ?

हो, प्रवेश अनुमतिपत्र यूएईको परिचयपत्र र नागरिकताको लागि सङ्घीय प्राधिकरण तथा आवसीय र वैदेशिक मामिला निर्देशनालयले जारी गर्ने पत्र हो। उक्त अनुमतिपत्र प्रवासीलाई निश्चित समयावधिसम्मका लागि यूएईमा वैधानिक रुपमै बस्नको लागि दिइने गरिन्छ।

यूएईमा प्रवेश गर्न चाहने व्यक्तिको प्रायोजकले आवासीय र वैदेशिक मामिला निर्देशनालयको अनलाईन वा अफलाईन माध्यमबाट प्रवेश अनुमतिको लागि प्रक्रिया अगाडि बढाउन सक्छन्। उक्त प्रायोजक कुनै सार्वजनिक निकाय, निजी क्षेत्रको कम्पनी, कुनै नातेदार, यूएईको एयरलाइन्स, होटल वा अन्य पनि हुन सक्छन्।

यूएई प्रवेश गर्ने कारणको प्रकृतिअनुसार विभिन्न प्रकारका प्रवेश अनुमति हुन्छन्। जस्तैः रोजगार, पारिवारिक, पर्यटक ट्रान्जिट, उपचार, मिसन र सम्मेलनमा सहभागी हुने आदि।

प्रवेश अनुमतिपत्रको निश्चित समयसम्म म्याद हुन्छ। जसको अर्थ यूएईमा निश्चित मार्ग (हवाई, जमीन वा समुद्र) प्रयोग गरी कुनै एक विन्दुबाट सो समयभित्र यूएई प्रवेश गर्नुपर्ने भन्ने बुझिन्छ। अधिकांश प्रवेश अनुमतिपत्रको म्याद दुई महिनाको हुन्छ। यसरी प्रवेश अनुमतिपत्रको म्याद बढाइँदैन। त्यस्ता अनुमतिपत्रको अवधि सकिएसँगै तिनको वैधता पनि समाप्त हुन्छ।

यदि मेरो भिसाको म्याद सकिएमा म के गर्न सक्छु?

वर्तमान समयमा कुनै व्यक्ति आफ्नो भिसाको म्याद सकिएपछिको ३० दिनभित्रको (ग्रेस) अवधिमा भएको भएतापनि त्यस्ता व्यक्तिलाई यूएईमा पुनः प्रवेश गर्नको लागि अनुमति दिने कुनै प्रावधान छैन। यस्तो अवस्थामा त्यस्ता व्यक्तिका प्रायोजक (रोजगारदाता, श्रीमान–श्रीमती, बुवा–आमा) ले विद्यमान भिसालाई रद्द गरी नयाँ प्रवेश अनुमतिको लागि आवेदन दिन सक्छन्।

के म विदेशबाटै भिसाको म्याद बढाउनको लागि आवेदन दिन सक्छु?

हाल कुनै व्यक्तिले विदेशबाटै भिसाको म्याद थप्न आवेदन दिने प्रावधान छैन। यद्यपि, यूएईस्थित ट्राभल एजेन्ट र कुटनीतिक मिसनले हालका प्रतिबन्धहरू पूर्णरुपमा हटिसकेपछि तपाईंको अवस्थाको समीक्षा गर्न सक्छन् र मार्गदर्शन गर्न सक्छन्।

के म पर्यटक भिसामा यूएई प्रवेश गर्नसक्छु?

हाल नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका पर्यटक भिसाधारी व्यक्ति सोझै ती देशबाट यूएई प्रवेश गर्न पाउँदैनन्। बरु, उनीहरू तेस्रो मुलुकमा कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा बसेपछि यूएई प्रवेश गर्न सक्छन्। ‘ग्रिन लिष्ट’ मा रहेका देशमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेपछि तपाईले पर्यटक भिसामा यूएई प्रवेश गर्न पाउनुहुन्छ। कतिपय यात्रीले यूएई प्रवेशको लागि यही विधि अपनाएका छन् र यसरी आफ्नो भिसाको म्याद सकिनु अगावै यूएई प्रवेश गर्न सफल समेत भएका छन्।

खालिज टाइम्सको सहयोगमा।