वैदेशिक यात्रा सहज बनाउँदै जापान, खोप पासपोर्ट प्रक्रिया सुरु

वैदेशिक यात्रा सहज बनाउँदै जापान, खोप पासपोर्ट प्रक्रिया सुरु

टोकियो । अन्तर्राष्ट्रिय यात्रा सहज बनाउने क्रममा जापानले खोप पासपोर्ट जारीको लागि प्रक्रिया सुरु गरेको छ । जापानले सोमबारबाट देशभरका नगरपालिकाहरुमा खोप प्रमाणपत्र जारी गर्न आवेदनहरु स्वीकार गर्न थालेको छ।

खोप प्रमाणपत्रको साथमा विदेश यात्रा गर्दा यात्रीहरूले आफ्नो वैदेशिक गन्तव्यमा पुग्दा क्वारिन्टिन नियमलगायतका कयौं सुविधामा छुट पाउनेछन् । यद्यपि यसमा देशपिच्छे फरक छुट वा नियम पालना गर्नुपर्नेछ।

हालसम्म पाँच राष्ट्रहरूले जापानले जारी गर्ने खोप प्रमाणपत्र स्वीकार गर्ने निश्चित भएको छ । जसमा इटाली, अष्ट्रिया, टर्की, बुल्गेरिया र पोल्याण्ड रहेका छन् । दक्षिण कोरियाले जापानले जारी गरेको खोप प्रमाणपत्र त स्वीकार गर्छ तर, यसको लागि थप कागजात आवश्यक पर्नेछ ।

जापानले हाल केवल पासपोर्ट बाहकहरुलाई मात्र खोप प्रमाणपत्र जारी गर्नेछ । किनभने खोप प्रमाणपत्र तत्कालको लागि वैदेशिक यात्रामा निक्लनुपर्ने अत्यावश्यक भएकाहरुका लागि लक्षित हो । खोप प्रमाणपत्रमा खोपको प्रकार, मिति जस्ता जानकारी हुन्छ । खोप प्रमाणपत्र जारी गर्दा नगरपालिका अधिकारीहरूले आवेदकको खोप रेकर्ड प्रयोग गर्दछन् ।

खोप पासपोर्टको रुपमा जापानले सम्झौता गरेका देशहरुको सहज यात्रा गर्न चाहने व्यक्तिहरुले प्रमाणपत्र लिने प्रक्रियाको लागि आवश्यक राहदानी र कागजातहरू सम्वन्धित नगरपालिका कार्यालयमा गएर पेश गर्न सक्नेछन्।

जापानले खोप प्रमाणपत्र स्वीकृतिका लागि अन्य सरकारहरुसँग पनि वार्ता गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले जापानी प्रमाणीकरणलाई अनुमोदन गरेका देशहरू र क्षेत्रहरूको सूची बारेको विस्तृत जानकारी रहने आफ्नो वेबसाइटमा छिट्टै संचालन गर्ने जनाएको छ ।

जापानले आफूले जारी गर्ने खोप पासपोर्ट स्वीकार गर्ने देशहरुको बारेमा आधिकारीक जानकारी सार्वजनिक गरेपनि आफुले खोप पासपोर्ट स्वीकार गर्ने देशहरुबारे केही बताएको छ ।

जापानले संक्रामक कोरोना संक्रमण फैलिएको देशको सूचिमा नेपाललाई रेड जोन क्षेत्रमा राखेको छ । नेपालबाट समेत खोप पासपोर्टमा जापान आउन पाउने अपेक्षा गरिरहँदा यसबारेमा स्पष्ट जानकारी केही आएको छ ।

हालसम्मको जापान सरकारको प्रक्रिया र सार्वजनिक जानकारीहरु हेर्दा नेपालबाट जापान खोप पासपोर्टमा प्रवेश पाउनको लागि कम्तिमा पाराओलम्पिक सम्मको लागि कुर्नुपर्ने देखिन्छ।

जापानमा जारी ओलम्पिक प्रतियोगिता अगष्ट ८ तारिख समापन हुनेछ भने पारा ओलम्पिक खेल अगष्ट २४ मा सुरु भएर सेप्टेम्बर ५ तारिख समापन हुनेछ ।