यूएईमा नेपाली नागरिकलाई फेरि अनिश्चितकालीन प्रवेश प्रतिबन्ध, हजारौं श्रमिक अन्यौलमा

यूएईमा नेपाली नागरिकलाई फेरि अनिश्चितकालीन प्रवेश प्रतिबन्ध, हजारौं श्रमिक अन्यौलमा आबुधाबी, यूएई

दुबई । यूएईले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध फेरि लम्बाएको छ।

यूएईको नागरिक उड्डयन प्राधिकरण (जीसीएए)ले नेपाली नागरिकमाथिको प्रतिबन्ध अनिश्चितकालको लागि लम्बाएको हो । यसअघि उसले २१ जुलाइसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो।

तर,आइतबार नयाँ नीति जारी गर्दै अर्काे सूचना जारी नभएसम्म प्रतिबन्ध बढाइएको प्राधिकरणलाई  उद्यृत  गर्दै स्थानीय पत्रिका खालीज टाइम्सले जनाएको छ।

यूएईकोे नजरमा नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ देशको सूचीमा यथावत छ।

प्राधिकरणद्वारा जारी सूचनामा नेपालसहित अन्य १६ देशका नागरिकलाई अनिश्चितकालीन प्रतिबन्ध लगाइएको बताइएको छ।

जसमा भारत, बंगालादेश, लाइबेरिया, नामिबिया, अफगानस्तान, सिएरा लिओन, गणतान्त्रिक कंगो, इण्डोनिसया, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिका रहेका छन्।

कुटनीतिक नियोग प्रतिनिधि, आपतकालिन स्वास्थ्यकर्मी, गोल्डेन भिसावाहकको सन्दर्भमा भने यो नियम लागू हुने छैन।

उसले प्रवेशमा रोक लगाएका नेपालसहितका मुलुकहरुमा आफ्ना नागरिकलाई समेत यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

उता यूएईले प्रवेश प्रतिबन्ध लामो समयसम्म नहटाउँदा नेपालबाट रोजगारीको लागि यूएई उड्ने पर्खाइमा रहेका हजारौँ नेपाली अन्यौलमा परेका छन्।

आबुधाबीस्थित नेपाली दूतावासकी श्रम सहचारी निर्मला थापाले प्रवास खबरसँगको टेलिफोन कुराकानीमा भनिन् ‘नयाँ र घरविदामा गएका नेपाली रोकिनु भएको छ । कतिपय प्रवेश प्रतिबन्ध लम्बिने डरले विदामा समेत नगइ यूएईमै बस्नु भएको छ।’

श्रम सहचारी थापाका अनुसार कोरोना अवधिमा दूतावासले झण्डै २९ हजार श्रमिकको मागपत्र प्रमाणिकरण गरेको थियो । यीमध्ये करिब ५ हजारभन्दा बढीको भिसा समेत निस्किएको उनको भनाइ छ ।

‘भिसा निस्किएका केही त यूएई आइपुग्नु पनि भएको छ । अहिले कोरोना कारण रोकिएको छ,’थापाले भनिन् । प्रक्रिया पूरा गरिसकेका पनि यूएई उड्न पाएका छैनन् ।

कोभिडको दोस्रो महामारीअघि घरविदामा नेपाल गएका श्रमिक पनि उतै अड्किएका छन्।