टर्कीमा नेपाली युवतीमाथि डेरा मालिकद्धारा बलात्कारको प्रयास

टर्कीमा नेपाली युवतीमाथि डेरा मालिकद्धारा बलात्कारको प्रयास सांकेतीक तस्वीर

इस्तानाबुल। टर्कीको राजधानी इस्तानाबुलमा घरेलु कामदारको रुपमा कार्यरत एक नेपाली महिलामाथि बलात्कारको प्रयास भएको छ।

ती महिला इस्तानाबुलको तार्लाबासीमा डेरा गरि बस्ने अर्को नेपाली साथी कहाँ भेटघाटका लागि गएकी थिइन। उनलाई डेरा मालिकले बलात्कारको प्रयास गरेका थिए। डेरा मालिकलाई टर्कीस्थित गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा प्रहरीमा उजुरी हालिएको छ भने हाल बलात्कारको प्रयास गर्ने व्यक्ति हिरासतमा छन्। उनीविरूद्ध अदालतमा जबरजस्ती करणीको मुद्धा दर्ता भइसकेको संघका एक प्रतिनिधिले प्रवास खबरलाई जानकारी दिए।

‘बहिनी कोठामा सुतिरहेको बेला कोठाको नक्कली चाबीले ढोका खोलेर डेरा मालिकले जबरजस्ती गर्न खोजेका रहेछन्। बहिनीले फोनबाट जानकारी दिएपछि हामी तुरुन्त घटनास्थल पुगेका थियौं,’ योञ्जनले भने, ‘अहिले डेरा मालिक प्रहरी हिरासतमा छन्। उनीविरूद्ध मुद्धा दायर भइसकेको छ।’

२७ वर्षीय ती महिला गैरकानूनी हैसियतमा टर्कीमा बसोबास गरिरहेको हुनाले उनलाई पनि प्रहरीले महिला सेल्टरमा राखेको छ। उनको मेडिकल रिपोर्ट आउन बाँकी रहेको योञ्जनले जानकारी दिँदै भने, ‘सबै कागजी प्रक्रिया पूरा भएपछि बहिनी बाहिर निस्किने छिन्।’

टर्कीमा घरेलु कामदारको रुपमा थुप्रै नेपाली महिला कार्यरत छन्। उनीहरू छुट्टि मनाउन महिनाको एक पल्ट साथीहरूसँगै एक–अर्काको डेरामा जाने–आउने गर्छन। ती महिला पनि छुट्टि मनाउन मंगलबार साथीको डेरा गएकी थिइन। कोठमा साथीहरू नभएको मौका छोपेर टर्किस डेरा मालिकले जबरजस्ती गर्न खोजेका थिए।