नेपाल पत्रकार महासंघ दक्षिण कोरियाविरुद्ध स्थानीय प्रहरी र अदालतमा मुद्दा

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाविरुद्ध स्थानीय प्रहरी र अदालतमा मुद्दा

सौल । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाविरुद्ध स्थानीय प्रहरी र अदालतमा मुद्दा परेको छ । महासंघविरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले मुद्दा दायर गरेको हो।

महासंघले संघको कम्प्युटरबाट अनाधिकृत रुपमा सदस्यहरुको डेटा चोरी गरेर आफ्नो फेसबुक पेजमा सार्वजानिक गरिदिएपछि महासंघविरुद्ध मुद्दा दायर गरिएको संघले जनाएको छ।

महासचिव विमल सुवेदीले महासंघका अध्यक्ष  रञ्जन राज कुँवरले संघको कम्युटरमा भएको २ हजार २०२ जनाको डेटा चोरी गरेर आफूहरुको पेजबाट सार्वजानिक गरिदिएको प्रवास खबरलाई जानकारी दिए। कोरियामा व्यक्तिगत डाटाहरु सार्वजानिक गर्न नपाइने सुवेदीको भनाइ छ ।

‘व्यक्तिगत डेटा सार्वजानिक गर्ने पक्षलाई आवश्यक क्षतिपूर्ति र अनुसन्धानको मागसहित प्रहरीमा उजुरी दिइएको छ । स्थानीय अदालतमा पनि मुद्दा दायर गर्ने तयारीमा छौँ,’ सुवेदीले प्रवास खबरसँग भने, ‘कसैले पनि कानूनविपरित काम गर्नु हुँदैन । कोरियामा यसलाई ठूलो अपराध मानिन्छ ।’

महासचिव सुवेदीले कार्यसमितिले तयार पारेर निर्वाचन समितिलाई बुझाउन लागेको डेटा निर्वाचन समितिसक्ष नपुग्दै महासंघका अध्यक्षले चोरी गरेर सार्वजानिक गरेको बताए ।

कोरियामा महासंघ र एनआरएनएबीच पहिलादेखि नै खटपट हुँदै आएको छ । आउँदो निर्वाचन लिएर पनि महासंघका पदाधिकारी र संघबीच तीव्र मतभेद छ ।

नेपाली समुदायको आन्तरिक झगडा स्थानीय निकायमा पुर्याउनु भन्दा आपसी सहमती र सम्झदारी गरेर अगाढी बढ्नु उचित हुने थियो कि ? भनेर प्रवास खबरले महासचिव सुवेदीसँग जिज्ञाशा राखेको थियो ।

जवाफमा उनले भने, ‘हामीले महासंघसँग आपसी सम्झदारी गरेर अघि बढ्न प्रयास नगरेको होइन । संघको चाहना जहिले पनि नेपाली समाज आपसमा नभाडियोस, सदभाव कायम रहोस भन्ने नै थियो । तर, त्यस्तो सकेन । स्थानीय कानूनलाई नै धज्जी उडाएपछि हामीले कानूनको सम्मान गर्नैपर्छ, त्यसैले उजुरी दिएका हौँ ।’

महासंघले भने संघको कुनै पनि डेटा अनाधिकृत रुपमा चोरी नगरेको बताएको छ। अध्यक्ष रञ्जन राज कुँवरले संघले आफूहरुप्रति जघन्य आरोप लगाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।