हाइटीका राष्ट्रपतिको हत्यामा २ अमेरिकी संलग्न

हाइटीका राष्ट्रपतिको हत्यामा २ अमेरिकी संलग्न

हाइटी। हाइटीका राष्ट्रपति होभेनेल मोसेको हत्यामा २८ जना संलग्न रहेको रहस्य खुलेको छ। उनको हत्यामा दुई अमेरिकी र २६ कोलम्बियाका नागरिक समावेश भएको हाइटीको प्रहरीले खुलासा गरेको हो। प्रहरीले बिहीबार सन्देहास्पद तीन कोलम्बियाली नागरिकलाई मारेको छ भने १७ आरोपी गिरफ्तार भएको प्रहरी निर्देशक लियोन चाल्र्सले बताएका छन्।

राष्ट्रपति मोसेको हत्या बुधबार भएको थियो। पक्राउ परेको संदिग्धमा १५ कोलम्बियाली र दुई हाइटीमुलका अमेरिकी रहेका छन्। आठ जना प्रमुख आक्रमणकारी फरार रहेको बताइएको छ। चाल्र्सका अनुसार हत्याको घटनापछि भाग्ने प्रयासमा रहेका संदिग्धलाई पक्राउ गरिएको हो। दुबैतर्फ फायरिङ भएको थियो।

बुधबार बिहान करि ५ बजे हाइटीको राजधानी पोर्ट–अफ–प्रिन्सस्थित राष्ट्रपति भवनमा हतियारधारी प्रवेश गरेका थिए। उनीहरूले ५३ वर्षीय राष्ट्रपति मोसे र उनको श्रीमती मार्टिना मोसेलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए। राष्ट्रपतिको शरीरमा १२ गोली लागेको थियो भने उनको घटनास्थलमै निधन भएको थियो। श्रीमती भने गम्भीर घाइते छिन्। उनको उपचार फ्लोरिडामा भइरहेको छ। उनीहरूको तीन केटाकेटी भने सुरक्षित छन्।

मोसे २०१७ मा राष्ट्रपति बनेका थिए। उनीविरूद्ध पछिल्लो समय थुप्रै प्रदर्शन भएको थियो।